Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पाइलटले गुहारीरहे : ‘मेरो जहाजको चक्का हेरिदेऊ’

१२ आश्विन, काठमाडौँ – दोस्रो पटकको प्रयासमा पनि एटीसीले ‘बायाँ र अगाडिको पाङ्ग्रा देख्यौं तर दाहिनेपट्टिको देखिएन’ भनेपछि क्याप्टेन आङ गेलु शेर्पाले काठमाडौं फर्किने निर्णय लिनुभयो ।

काठमाडौंबाट विराटनगर उड्ने जहाजले कोसी टप्पु वन्यजन्तु आरक्ष कटेपछि विराटनगर टावरसँग अवतरण अनुमति माग्छन् । तर, सोमबार बुद्ध एयरको एटीआर जहाजले विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई धावनमार्गमा अवतरणको अनुमति मागेन । उल्टै पाइलटले एटीसीलाई अप्रत्याशित काम अह्राए, ‘हाम्रो जहाजको चक्का खुलेको छ कि छैन हेरिदेऊ ।

’ विराटनगरबाट १० माइल परै रहेको जहाजले यस्तो सोधेपछि एटीसीले नाङ्गा आँखाले जहाजका पाङ्ग्रा खुलेरनखेलेको हेर्ने प्रयास गरे तर देखखिएन चालकदलका चार सदस्यसहित ७७ जना सवार ‘अल्फा नोभेम्बर इन्डिया’ एटीआर जहाज दोस्रो पटक धावनमार्गमाथिबाटै उड्यो ।

पाइलटले चक्का खुलेको र लक भएरनभएको पक्कापक्की गर्न चाहनुभएको थियो  । तर, दोस्रो प्रयासमा पनि सफल हुन सकेन । त्यो जहाजको पछिपछि आइरहेको अर्को जहाज भने सजिलै अवतरण भयो ।

पहिलो पटक एटीसीले पाइलटलाई ‘कुनै पनि ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेको र लक नभएको’ सूचना दिएका थिए । दोस्रो पटकको प्रयासमा पनि एटीसीले ‘सर, बायाँ र अगाडिको पाङ्ग्रा देख्यौं तर दाहिनेपट्टिको देखिएन’ भनेपछि जहाजका क्याप्टेन आङ गेलु शेर्पाले काठमाडौं फर्किने निर्णय लिनुभयो ।

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण तस्बिरहरू

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विराटनगरका लागि सोमबारको पहिलो फ्लाइट नै अवतरण हुन नसकेपछि ‘इमर्जेन्सी डिक्लियर’ नगरेर सामान्य उडान जस्तै फर्किएको थियो ।

यसको अर्थ जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिनु तर आपत्कालीन अवस्था आउनु हो । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सामान्य अवस्थामा एटीआर–७२ ले काठमाडौंबाट विराटनगर एकतर्फी उडानका लागि ४० मिनेट हाराहारी लगाउँछ ।

३ शिशु, २ बालबालिका र वयस्क गरी ७३ यात्रु बोकेर बिहान ८ बजेर ३१ मिनेटमा उडेको जहाज विराटनगरबाट ७९ औं मिनेटमै फर्किएको थियो । बिहानको मौसम सफा भएकाले बुद्धका लागि भीएफआर (हेरेर गरिने उडान) उडान तय गरिएको थियो । फर्किंदा पनि यसले उपकरण (आईएफआर) को सहायता नलिई काठमाडौंभित्र प्रवेश गर्‍यो ।

जहाज काठमाडौंभित्र नपस्दै वायुसेवा कम्पनी बुद्ध र काठमाडौं विमानस्थलले यसबारे जानकारी पाइसकेका थिए । दुम्जा, धुलिखेल, साँगा हुँदै जहाज काठमाडौं उपत्यकाको आकाशमा प्रवेश गरेपछि काठमाडौं कन्ट्रोल टावरलाई फेरि भन्यो, ‘मेरो जहाजको पाङ्ग्रा हेरिदेऊ ।’

टावरमा रहेका एटीसी, बुद्ध एयरकै प्राविधिकहरूले दूरबिनको सहायताले हेरे । त्यतिबेला जहाज काठमाडौंको आकाशमा १२ हजार फिट उचाइमा थियो । विमानस्थल प्रवक्ता शेर्पाका अनुसार अप्ठ्यारोमा परेको जहाजलाई अवतरणमा प्राथमिकता दिँदै विमानस्थल एकतर्फी चलाइयो ।

अर्थात्, काठमाडौंबाट बाहिरका लागि हुने उडान रोकियो । तर आउने जहाजलाई सावधानीपूर्वक अवतरण गराउने क्रम जारी नै राखियो । बुद्धको जहाज भने काठमाडौंभित्रको आकाशमा फन्को लगाइरहेको थियो ।

काठमाडौंबाट १८ सय किलोग्राम इन्धन राखेर उडेको जहाजले विराटनगरबाट फर्किने इन्धन पनि यतैबाट भरेर उडेको थियो । यदि ल्यान्डिङ गियर नखुलेको भए यसले अकाशमा उडेरै इन्धन नष्ट (फ्युल–बर्न) गरी फममा आपत्कालीन अवतरण गर्ने योजना बनाएको थियो ।

फम चिप्लो पदार्थ हो । पाङ्ग्रा नखुलेमा फायर ट्रकको माध्यमले धावनमार्गमा फम पोखेर जहाजको बेली (जहाजमुनिको भाग) ले घर्षण गराई अवतरण गराइन्छ । ‘ट्यांकीमा रहेको अधिकांश तेल खाली उडाएरै सक्ने ।

थोरै तेलमात्रै राखेर फममा अवतरण गराउँदा घर्षण हुने र आगोको झिल्का नआउने भएकाले यो आपत्कालीन विधि हो,’ प्राधिकरणका एक विज्ञ पाइलटले भन्नुभयो।आठौं पटक एटीसीले बुद्धको एटीआर जहाजलाई धावनमार्गमाथिबाट उड्न अनुमति दिएपछि । त्यसपछि जहाजलाई चालकदलहरुले कोटेश्वरतर्फबाट ल्याउनुभयो ।

त्यसबेला जहाज धावनमार्गदेखि १ हजार फिट माथिबाट उत्तरतर्फ उड्यो । यो पटक चाहिँ एटीसी र धावनमार्ग आसपासमा उभिएका सुरक्षाकर्मीले जहाजको सबै पाङ्ग्रा खुलेको देखे । जहाजलाई अवतरण अनुमति दिइयो । जहाज १० बजेर २७ मिनेटमा अवतरण भयो । पार्किङ वेसम्म आइपुग्दा उक्त जहाजले १ घण्टा १६ मिनेट बिताइसकेको थियो ।

सोमबारको घटना अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले बेग्लाबेग्लै समिति बनाएका छन् । प्राधिकरणले विज्ञ पाइलट डीआर निरौला नेतृत्वको आन्तरिक प्राविधिक छानबिन कमिटी बनाएको छ भने बुद्धले प्रमुख पाइलट रवि श्रेष्ठको नेतृत्वमा छानबिन गरिरहेको जनाएको छ ।

दुवै समितिले उडानको सोमबारै एफडीआर (फ्लाइट डाटा रेकर्डर) र सीभीआर (ककपिट भ्वाइस रेकर्डर) झिकेको छ । एफडीआर विश्लेषण गर्ने प्रविधि नियमनकारी निकाय प्राधिकरणसँग नभएकाले समितिले यसबारे जानकारी लिन बुद्धकै प्रविधिमा भर पर्नुपर्नेछ ।

प्रारम्भिक अनुमानअनुसार ल्यान्डिङ गियर खुलेको तर ककपिटमा रहने दुई इन्डिकेटरमध्ये एउटाले खुलेको, अर्कोले नखुलेको देखाएका कारण चालकदलले विराटनगरमा अवतरण नगरेको देखिन्छ ।

‘जहाजमा ल्यान्डिङ गियरका लागि दुइटा इन्डिकेटर हुन्छन् । यो घटनामा प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरले संकेत ठीक देखाएको,’ बुद्धले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उसका अनुसार पाइलटको टाउको माथि रहेको सेकेन्डरी इन्डिकेटरले ठीक संकेत दिएको अवस्थामा ल्यान्डिङ गियर खुलेकै मानिन्छ । तर, सोमबारको घटनामा क्याप्टेनले सेकेन्डरी इन्डिकेटरलाई विश्वास गरेनन् ।

एक विज्ञ पाइलटका अनुसार सोमबारको जस्तो परिस्थितिमा चालकदलले जहाज विराटनगरमा अवतरण गराउन मिल्थ्यो । ‘उडानका कमान्डर एटीआर–७२ का प्रशिक्षक पाइलट तथा प्राधिकरणमा पाइलटलाई जाँच लिने डीसीपी (डेजिग्नेटेड चेक पाइलट)पनि हुनुहुन्छ ।

तर, उहाँले ककपिटमै अनिवार्य रहने क्यूआरएच (क्विक रिफरेन्स ह्यान्डबुक) को पनि मद्दत लिएको देखिएन, यो अब छानबिनबाट मात्रै प्रस्ट होला,’ एक पाइलटले भन्नुभयो ।

पाइलटहरू नै झुक्किएको घटनाले सोमबार जहाजभित्रका यात्रु त्रासमा रहे । जहाजले काठमाडौं फन्को लगाउँदा केहीले बान्ता गरेको बताएका छन् । आठौं पटक धावनमार्ग नजिकै उड्दा छेउछाउमा दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी तैनाथ थिए ।

बुद्धले सोमबारै उक्त उडानमा रहेका यात्रुलाई अर्को चार्टर्ड उडानमा विराटनगर पठाएको थियो । ७३ मध्ये १२ जनाले यात्रा रद्द गरेको एक अधिकारीले बताउनुभयो ।

तस्बिरहरू : क्याप्टेन विवेक खड्का

यसैबीच, उक्त उडानमा रहेको चालकदललाई ‘बिदा’ मा पठाएको र जहाजलाई प्राविधिकहरूको निगरानीमा ह्यांगरमा राखिएको कम्पनीले जनाएको छ ।

सोमबार बिहानै पोखराका लागि उडेको बुद्धकै अर्को एटीआर–७२ जहाजको कार्गो कम्पार्टमेन्टमा ग्यास भरिएको संकेत ककपिटमा देखिएको थियो । उक्त जहाज पनि बीचबाटोबाटै फर्किएको थियो । गोरखा, मनकामना नपुग्दै फर्किएको यो एटीआर पनि प्राविधिकको निगरानीमा राखिएको छ ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE