नाम मात्रको सुपथ मूल्य पसल ! न धेरै छुट न सामान नै पर्याप्त
२२ आश्विन, काठमाडौँ –सरकारले हरेक वर्षको चाडपर्वलाई लक्षित गर्दै दसैंअघि ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै आएको छ । सहुलियत दरमा खाद्यान्न पाइने भनेर उपभोक्ता पनि उत्साहित हुने गर्छन् । तर, यस्ता पसलले जनअपेक्षा पूरा गर्न सकेको छैन ।
सहुलियत पसलको जिम्मेवारी पाएकोे खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङले ठूलो सहुलियत दिएका छैनन् । न त यस्ता पसलमा सामान नै पर्याप्त हुन्छ ।
मंहगीले ढाड सेकिएका नेपाली चाडपर्वको मुखमा सहुलीयत दरमा खाद्यान्न पाइन्छ भनेर टाढाटाढाबाट सामान लिन सहुलियत पसल पुग्ने गरेका छन् । तर निराशा बोकेर फर्कनु परेको छ । सरकारले स्थापना गरेका सहुलियत पसल नाम मात्रका छन् ।
सिंहदरवारस्थित रामशाह पथमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्य पसलमा विहीबार नक्साल बस्ने रवी महर्जन चिनी र दाल तेल किन्न आउनुभएको थियो।
उहाँले पसलमा चिनीको मूल्य सोध्नुअघि नै भित्तामा ‘चिनी छैन’ लेखेर टाँसेको देखे । फेरी उहाँले पसलमा बसेका कर्मचारीलाई ‘रातो दाल पाँच केजी राख्दिनु’ भने न्नुभयो। कर्मचारीले रातो दाल पनि नभएको बताए । त्यसपछि उहाँले पुनः खाने तेलको मूल्य सोध्नुभयो । कर्मचारीले लिटरको १६० रुपैयाँ पर्ने बताए ।
‘१७० मा त घर नजिकै पाइन्छ’ महर्जनले कर्मचारीलाई भन्नुभयो । कर्मचारीबाट कुनै जवाफ आएन । त्यसपछि उहाँ एक्लै भुत्भुताउन थाल्नुभयो– यो पनि छैन, त्यो पनि छैन । भएको सामान पनि बजार भाउमा नै छ । अनि केको सरकारको सहुलियत पसल ?
उहाँपछि अर्की ग्राहकले पनि भनेको सामान पाउनुभएन । सहुलियत पसलमा दाल, चामल, खाने तेल, नुन, चिनीलगायतका सामान पाइन्छ भनेर सरकारले यसको प्रचारप्रसार समेत गरेको छ । तर, सरकार आफैंले न त प्रचार गरेजसरी ग्राहकलाई खाद्यवस्तु बितरण गरेको छ, न त बजार भाउभन्दा बेस्सरी सस्तो छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी भने सहुलियत पसल नाम मात्रको नभएको जिकिर गर्छ । खाद्यान्नको सहुलियत पसलको मूल उद्देश्य चाडपर्वका बेला हुन सक्ने कालोबजारी रोक्नु भएको बताउँनुहुन्छ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी ।
साल्ट ट्रेडिङले चिनी उपलव्ध नगराएकाले आफूहरुले ग्राहकलाई बिक्री गर्न नसकेको उहाँले बताउनुभयो। खाद्यान्नले गत वर्षभन्दा यस बर्षबाट सुपथ पसलमा भेराइटी दिने कोशिस गरेको उहाँले बताउनुभयो ।
तर पसलमा भेराइटी त परै जाओस् भनेको सामान पनि भेट्न मुस्किल छ । ग्राहकले समान नभेट्नुमा खाद्य व्यवस्थाले त्यसलाई आउट अफ स्टक (मौज्दात नरहनु) भएको भनेर टार्ने गरेको छ । पसलमा खाद्यान्न सकिए पनि त्यसको जानकारी ग्राहकलाई हुँदैन् र त्यसको कुनै उत्तरदायित्व खाद्यान्न लिने पनि गरेको छैन ।
ग्राहकको घट्दो आकर्षण
गत वर्षहरुमा सरकारले खोलेको सहुलियत पसलमा उपभोक्ता झुम्मिने गर्थे तर, ग्राहकले भनेको सबै सामान नभेटिने र बाहिरको भन्दा खासै सस्तो नहुने भएकाले सहुलियत पसलको आकर्षण घटेको छ ।
सहुलियत पसलसम्म पुग्ने समय र गाडीभाडा जोड्दा केही महंगो भए पनि आफ्नै वरीपरीका पसलमा सामान किन्दा फाइदा हुने बताउँनुहुन्छ मैतिदेवीकी गृहिणी सोभिता चौलागाई । सरकारले गत असोज १ गतेदेखि कार्तिक २४ गतेसम्मका लागि सुपथ मूल्य सञ्चालन गरेको हो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE