Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

अझै कठोर बन्दै निर्वाचन आयोगः आचारसंहितामा कडाइ गर्दै

२९ फागुन, काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि धमाधम तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा अघिल्ला वर्षभन्दा कडाइ गर्ने नीति लिएको छ ।

दललाई शुक्रबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिलिङको जानकारी दिएको आयोगले निर्वाचनमा हुने खर्च कम गर्न र निर्वाचनलाई भड्किलो बनाउनबाट रोक्न आचार संहितामा पनि कडाइ गर्ने नीति लिएको हो ।

आयोग स्रोतका अनुसार यसपटकको स्थानीय तह निर्वाचनमा दल तथा दलका उम्मेदवारले अघिल्ला निर्वाचनमा जस्तो पोस्टर पम्प्लेटमार्फत प्रचार प्रसार गर्न पाउने छैनन् । यस्तै कपडाबाट बन्ने टिसर्ट, ह्याट, झन्डाको प्रयोगमा पनि आयोगले कडाइ गर्नेगरी आचारसंहिता बनाइरहेको छ ।

‘यसपटक अघिल्ला निर्वाचनमा जस्तो पोस्टर पम्प्लेटमार्फत प्रचार प्रसार गर्न पाइँदैन, कपडाबाट बन्ने टिसर्ट, ह्याट, झन्डाको प्रयोगमा पनि आचारसंहितामार्फत कडाइ गर्ने नीति आयोगको छ, त्यहीअनुसार आचारसंहिता बनाउँदै छौं,’ निर्वाचन आयोगका एक आयुक्तले राजधानीसँग भने ।

आयोगले बनाउँदै गरेको आचारसंहितामा उम्मेदवारले फ्लेक्स बोर्डको प्रयोग गर्न नपाउने, मतदातालाई प्रभावित पार्ने गरी गतिविधि गर्न नपाइने लगायतका विषय समेटिँदै छ ।

आयोगले राजनीतिक दल तथा दलका उम्मेदवारलाई मात्र होइन आफूले गर्ने खर्चमा समेत व्यापक कटौती गर्ने बताएको छ ।

आयोगले गत १६ फागुनमा सरकारलाई २६ बुँदे आग्रह गर्दै कर्मचारीको जहाँ दरबन्दी छ त्यही राख्न, तहअनुसारकै कर्मचारी स्थानीय तहमा पठाउन र सरुवा गर्नै पर्ने कर्मचारीका हकमा १५ चैतसम्म गरिसक्न आग्रह गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE