को हुन् नव निर्वाचित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह?
१३ जेठ, काठमाडौँ-बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह भए पनि उनी बालेन शाहको नामले परिचित छन्। १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा जन्मिएका उनी हाल गैरिगाउँ, तिनकुनेका स्थायी बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा.राम नारायण शाह र धुव्रा देवी शाहका सन्तानका रुपमा जन्मिएका उनीको पुर्खाली थालो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो।
शाहको प्रारम्भिक अध्धयन काठमाडौं नरदेवीमा रहेको जल्जला स्कूलबाट भएको हो भने स्कूलपछिको उच्च माध्यमिक तहको अध्ययन काठमाडौं तीनकुनेमा अवस्थित भिएस निकेतनबाट गरेका हुन्। उनको स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हाइट हाउस कलेजबाट भएको थियो। त्यहाँ उनले सिभिल इन्जिनियरिङको अध्ययन गरेका थिए। अध्ययनको क्रममा स्नाकोत्तरका लागि उनी भारत पुगेका थिए। भारत, कर्नाटकबाट उनले स्टकचरल इन्जिनिरिरिङको अध्ययन पूरा गरेका शाह विभिन्न निर्माणसम्बन्धी कार्यमा संलग्न रहँदै आएका छन्।
२०७२ मा नेपालमा गएको महाभूकम्प पश्चात देशको विभिन्न स्थानमा पुगी उनी पुनःनिर्माणको काममा संलग्न रहेका उनको दाबी छ। भूकम्प र कोभिड महामारिका बेला काम गरे पनि नेतृत्वमा नै बसेर काम नगरिकन आफ्नो योजना प्रभावकारी नहुने देखेर काठमाडौंको मेयर पदमा उम्मेदवारी दिएको। आफ्नै नाममा रहेको बालेन कन्सल्टिङ र कन्स्टक्सन प्रालिका उनी सञ्चालक हुन्।
शाह र्याप ब्याटल गायक पनि हुन्। नेपाली र्याप ब्याटल दोस्रो लिगका विजेता हुन् भने उनी विगत लामो समयदेखि संगीतको यो विधामा संलग्न रहँदै आएका छन्। कुनै पनि नगरपालिकाको मेयर भनेको त्यहाँको ‘सीईओ’ हो भन्ने शाह व्यवस्थापकीय कम्जोरीका कारण मेयरहरुले राम्रोसँग काम गर्न नसकेको दाबी गर्छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने विचार गरे पनि विवेकशील र साझा पार्टीका स्वतन्त्र उम्मेदवारले आशा जगाएका कारण आफू पछि हटेको उनले दाबी गर्दै आएका छन्।
काठमाडौंलाई स्विजरल्यान्ड र सिंगापुर बनाउनु पर्दैन काठमाडौं नै बनाए पुग्छ भन्ने शाह भक्तपुर नगरपालिकाबाट अत्यन्तै प्रभावित देखिन्छन्। भक्तपुर नगरपालिकामा सुनिल प्रजापति मेयर पदमा विजयी भएपछि उनलाई बधाई दिन समेत शाह भक्तपुर पुगेका थिए। सार्वजनिक सञ्चार माध्यममा आएका अन्तर्वार्ताहरुमा पनि शाहले भक्तपुर नगरपालिकाको मुक्त कण्डले प्रशंसा गर्दै आएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE