Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

लोकगायिका सुनारको पोस्टमार्ट रिपोर्ट : मृत्युको कारण ‘ह्याङ्गिङ’

१५ असार, काठमाडौं – आफ्नै कोठामा मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको शव परीक्षण (पोस्टमार्टम) रिपोर्ट प्रहरीले प्राप्त गरेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मंगलबार प्रहरीलाई पोस्टमार्टम रिपोर्ट उपलब्ध गराएको हो।

प्रहरी स्रोतका अनुसार पोस्टमार्ट रिपोर्टमा सुनारको मृत्युको कारणमा ह्याङ्गिङ उल्लेख छ। ‘रिपोर्टमा स्ट्राङ्गुलेसन (घाँटी दबाएर) मुत्यु भएको उल्लेख छैन। मृत्युको कारणमा ह्याङ्गिङ उल्लेख छ,’ प्रहरी स्रोतले भन्यो।

पोस्टमार्टमा ह्याङ्गिङ उल्लेख भए पनि अहिले नै हत्या कि आत्महत्या भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका अन्य पक्ष पनि बाँकी नै रहेकाले हत्या कि आत्महत्या भन्ने विषय भने पछि खुल्ने प्रहरीको भनाइ छ।

सुनारको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएका उनका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।

गत शनिबार बिहान करिब ११ बजे सुनार काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। सुनारले गत शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै ‘बाँचेर पनि दिनदिनै मर्नु परेको’ उल्लेख गरिकी थिइन्। प्रहरी अनुसन्धानबाट खुलेअनुसार त्यसराति सुनार प्रेमीसँगै आफ्नो कोठामा बसेकी थिइन्।

WRITE COMMENTS FOR THIS ARTICLE