त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित
३० असार,काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।
घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५।१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।
नेपालका लागि मोहम्मद आशिफ शेखले सर्वाधिक अर्धशतकीय पारी खेले । ६२ बलको सामना गरेका उनले ७१ रन बनाए ।यस्तै, कुशल भुर्तेल २७, देव खनाल ४, दीपेन्द्र सिंह ऐरी ३, आरिफ शेख १ रनमा आउट भए । रोहित पौडेलले अविजित रहँदै ३४ रन बनाए ।
त्यसअघि ग्लास्कोको टिटउडमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले ४२।५ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
उसका लागि सर्वाधिक ग्याभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । अन्य खेलाडी क्रिजमा खासै जम्न सकेनन् । बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान तीन–तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले एक–एक विकेट लिए ।
जितसँगै नेपाल १८ खेलमा १७ अंकसहित तालिकाको पाँचौै स्थानमा उक्लिएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नेपालले अब शनिबार नामिबियासँग सिरिजको दोस्रो खेल खेल्नेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE