दशैंको मुखैमा चिनियाँ नाकामा रोकियो सामान, दशैंमा महँगी बढ्ने
काठमाडौं – दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् ।
दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् । नेपाल–चीनसँग निकै लामो समयदेखि द्विदेशीय व्यापार हुँदै आएको छ । नेपालको प्रमुख छिमेकी चीन सरकार र नेपाल सरकारबीच कुटनीतिक तबरबाट व्यापार व्यवसायमा सहजीकरण हुने गरेकोमा हाल दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेको उनले बताए ।
प्राचीनकालदेखि नै नेपाल र चीनबीच दौत्य सम्बन्ध रहेको र १९१२ सालमा जंगबहादुर राणाका पालामा भएको सन्धिपछि चीन—नेपाल सम्बन्ध जनस्तरमा समेत फैलिएको इतिहास छ । विभिन्न समयमा भएका विभिन्न सन्धी सम्झौता पछि नेपाल र चीनबीचको व्यापार अझ धेरै सहज भएका उदाहरणहरु छन् । नेपाल र चीनबीच ऐतिहासिक पारवाहन सन्धी सम्झौता समेत भइसकेको छ । २०७६, असोज २६ गते चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा भएका दुई देशबीचको सम्झौतामा पनि व्यापारको विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।
दुई देशबीच लामो समदेखि सौहार्दपूर्ण व्यापारिक सम्बन्ध रहेकोमा केही समयदेखि भने तातोपानी तथा केरुङ नाकामा केही समस्याहरु देखिएका छन् । यतिबेला आयातित सामाग्रीहरु चिनियाँ सीमानामा रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएको घटनाले नेपाल राष्ट्रिय व्यवसायी महासंघको ध्यानाकर्षण भएको उनको भनाइ छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
WRITE COMMENTS FOR THIS ARTICLE