Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

विश्वकै कम उचाइमा रहेको कफुचे हिमताल

कास्की – कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ ।

तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटक माझ पुर्याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवर्द्धनलाई जोड दिएको वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङले बताए । सिक्लेसबाट कफुचेसम्म पुग्ने पैदल मार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको उनले बताए ।

हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कफुचेसम्मका लागि अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको उनले बताए । उक्त क्षेत्रमा घोडचढी व्यवसाय सञ्चालन गर्न चाहनेले ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्न पाउँछन् । “गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उक्त अनुदानको कार्यक्रमलाई समेटेको छ”, वडाध्यक्ष गुरुङले बताए, “यो सँगै स्थानीयको रोजगारी प्रवद्र्धन एवं सिक्लेस र कफुचेबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने छ ।”

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिम पहिरो पग्लिएर बनेको सो तालमा पुग्ने जो कोही त्यहाँको सुन्दर दृश्यबाट लोभिने गरेका छन् । लगभग एक हजार दुई सय वर्ग मिटरमा फैलिएको तालको नीलो कञ्चन पानी मनमोहक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE