Date
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023

प्रदीप रोदनको गजलकृति ‘मफलर’को विमोचन

काठमाडौँ – गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताउनुभयो । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उहाँले भन्नुभयो, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।’

‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ,’ साहित्यकार न्यौपानेले थप्नुभयो । यस्तै कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE