सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । आजको बैठकले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठनको निर्णय गर्ने बताइएको छ ।
गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो । यो घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डले गृहलाई निर्देशन दिएका थिए । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न लागिएको हो । यससम्बन्धी सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्ने र सोमबारदेखि नै काम सुरू गर्ने तयारी सरकारको छ ।
बालकुमारीमा भएको घटनासम्बन्धी छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु रिग्देल सदस्य छन् । बालकुमारी घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो । रावतको छातीमा डाम देखिएको थियो भने साहको गोली लागेर मृत्यु भएको थियो । मृतक परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिने पनि निर्णय गरेको छ ।
प्रदर्शनको क्रममा गोली चलाउन निर्देशन दिएको भन्दै गृह मन्त्रालयले फिल्ड कमान्डर रहेका डिएसपी उमेश लम्साललाई निलम्बन गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE