Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

विवादास्पद असई बच्चा यादवलाई नामटार पोस्ट पठाउने दबाब: प्रहरी टेण्डर र चलखेलले सुरक्षा व्यवस्थामाथि प्रश्न

जनकपुर – मकवानपुरको कैलाश गाउँपालिका-९ स्थित नामटार अस्थायी प्रहरी पोस्ट प्रमुखमा विवादास्पद असई बच्चा यादवलाई पठाउने दबाबसँगै प्रहरी संगठनभित्रको टेण्डर र चलखेल फेरि सतहमा आएको छ। जिल्ला प्रहरी प्रमुख (एसपी) र प्रदेश प्रहरी प्रमुख (डिआइजी)बीच यस विषयमा रस्साकस्सी चलिरहेको छ भने डिआइजी कृष्णहरि शर्माले यादवलाई नामटार पोस्टमा पठाउन जोड दिइरहेको प्रहरी स्रोतले जनाएको छ।

नामटार क्षेत्र, विशेषगरी वडा ९ र १०, गांजा खेती र ओसारपसारका लागि देशभर चर्चित छ। सयौं रोपनीमा लगाइने गांजा यही अस्थायी पोस्टको अगाडिबाट ओसारपसार हुने हुँदा यो पोस्ट आर्थिक लाभको प्रमुख केन्द्र बनेको छ। यही कारण, प्रहरी चौकी प्रमुख बन्ने प्रतिस्पर्धा टेण्डर प्रणालीका रूपमा विकास भएको आरोप लगाइएको छ।

विवादास्पद असई यादवको पृष्ठभूमि

असई बच्चा यादव, जो महोत्तरीमा आफ्नै सिपाहीलाई गोली हानेको आरोपमा निलम्बनमा परेका थिए, लामो समयदेखि घुमुवा प्रहरीका रूपमा कुख्यात छन्। उनलाई यस पोस्टमा पठाउन डिआइजी शर्माको चर्को दबाब रहेको बताइए पनि, उनको विगत र विवादित छविका कारण सुरक्षा प्रणाली थप कमजोर हुने चिन्ता स्थानीयबासीले व्यक्त गरेका छन्।

आर्थिक चलखेल र प्रहरी संगठनमाथिको प्रश्न

नामटार पोस्टमा सरुवा हुनका लागि हुने आर्थिक लेनदेन र पदको दुरुपयोगले प्रहरी संगठनको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीभित्र सरुवा प्रक्रिया पारदर्शी हुन नसक्दा विवादास्पद प्रहरी कर्मचारीहरूलाई चर्को रकमको बलमा संवेदनशील क्षेत्रको जिम्मेवारी दिइने क्रम रोकिएको छैन।

WRITE COMMENTS FOR THIS ARTICLE