१ करोड ६० लाख ठगी आरोपमा नविल बैंकका शाखा प्रमुख किशोरी साह पक्राउ
जनकपुरधाम – नविल बैंक जनकपुर शाखाका तत्कालीन शाखा प्रमुख किशोरी साहलाई १ करोड ६० लाख रुपैयाँ ठगी आरोपमा पक्राउ गरिएको छ।
सिरहाको गोलबजारस्थित सीता फुड एण्ड बेभरेजकी सञ्चालिका सोमिन्द्राकुमारी साहले २०७८ सालमा नविल बैंकबाट लिएको ऋणको रकम शाखा प्रमुख साहले फर्जी चेकमार्फत विभिन्न व्यक्तिको नाममा झिकेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।
नेपाल बंगलादेश बैंक र नविल बैंक मर्जपछि साहले केही समय मिर्चैयास्थित शाखा प्रमुखका रूपमा काम गरेका थिए। पछिल्लो समय जनकपुर शाखा प्रमुख रहेका साहले केही समयअघि नै राजीनामा दिएका थिए।

धनुषा प्रहरीको सहयोगमा उनलाई शुक्रबार बेलुकी बैंकबाट पक्राउ गरी मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ। जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी पञ्चकुमार बाखुले जानकारी दिएका छन्।
साहविरुद्ध उच्च अदालत, राजविराजबाट ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा परमादेश भएर आएको जनाइएको छ। मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंक शाखामा शाखा प्रमुख रहेका बेला ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो।
शाखा प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले यस्तो आपराधिक गतिविधि गरेको आरोपले बैंकिङ क्षेत्रमा गम्भीर प्रश्न उठाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE