Date
शुक्र, फाल्गुन ८, २०८२
Fri, February 20, 2026

कार्बाहीको चेतावनीपछि बल्ल बैंक खाता खोल्न सिफरिस लिँदै काभ्रेका उम्मेदवारहरु

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेको दुबै क्षेत्रका उम्मेदवारहरु अहिले चुनावी अभियानमा सक्रिय छन् । उम्मेदवारी दर्तादेखि नै कार्यकर्ता भेटघाटदेखि मतदाताको घरदैलोसम्म धाइरहेका उम्मेदवारहरुले चुनावी अभियानमा खर्च पनि गरिरहेका छन् । यातायातको साधनदेखि अभियानमा प्रयोग हुने झण्डा, व्यानरसम्ममा खर्च भइरहेकै छ ।

तर, त्यो खर्च बैंकमार्फत गर्नुपर्ने प्राबधानलाई भने अधिकांशले अहिलेसम्म लत्याएका छन् । उनीहरुले गोजीबाटै खर्च गरिरहेपछि निर्वाचन आयोगले बैंक खाता खोलेरमात्रै आर्थिक कारोबार गर्न झक्झक्याएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले आचारसंहिता पालनाबारे आयोजना गरेको उम्मेदवारसँगको छलफलमा सम्वन्धीत अधिकारीहरुले तत्काल बैंक खाता खोल्न र त्यसमार्फतमात्रै कारोबार गर्न र अन्यथा कानुनअनुसार कार्बाही हुनसक्ने चेतावनी दिएपछि उम्मेदवारहरु बल्ल सिफारिस लिन जागरुक देखिएका छन् । यद्यपि जिल्लाको दुई क्षेत्रका ४२ जना उम्मेवारमध्ये १० जनाले मात्रै सिफारिस लिएका छन् भने एकजनाको मात्रै आजसम्म बैंक खाता खुलेको छ ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख दिनेश शिवाकोटीका अनुसार हिजोसम्म ३ जनाले मात्रै सिफारिस लिएकोमा आज थप ७ गरी १० जनाले बैंक खाता खोल्न सिफारिस लिएका छन् । निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न जिल्लास्थित निर्वाचन कार्यालयबाट सिफारिस लिनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले यसपटकदेखि निर्वाचनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने र त्यसमार्फतमात्रै निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगले काभ्रे जिल्लामा एउटा उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ । उम्मेदवारले निर्वाचनका लागि २५ हजार रुपैयाँसम्म रसिद काटेर चन्दा सहयोग लिन पाउने, त्योभन्दा बढी सहयोग खातामार्फत नै लिनुपर्ने तथा रसिद काटेर लिइएको सहयोग पनि तत्कालै बैंक खातामै जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र खाता बन्द गर्नुपर्ने तर ६ वर्षसम्म खातामा भएको कारोबारको विवरण सुरक्षित राख्नुपर्ने व्यवस्था पनि रहेको छ ।

छलफलमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले तत्कालै बैंक खाता खोल्न उम्मेदवारहरुलाई आग्रह गरे । कुनै पनि उम्मेदवारले निर्वाचनमा खर्च नगरेको दाबी गरेमा पनि उनीहरुले प्रयोग गर्ने झण्डा, गाडी लगायतको स्रोत खोजिने उनले बताए ।

काभ्रेका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक रुद्र कोइरालाले उम्मेदवारले अन्य व्यक्तिबाट निर्वाचन खर्च गराउन नहुने र गराइएमा २५ हजार रुपैया“सम्म जरिवाना हुने, आयोगले तोकेको सीमाभन्दा बढी खर्च गरे खर्च गरेको रकमजत्तिकै जरिवाना हुने, प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण नबुझाए पनि जरिवाना हुने भन्दै समयमै बैंक खाता खोलेर आम्दानी र खर्चको विवरणमा पारदर्शिता अपनाउन आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE