Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

ललितपुर नगर प्रहरीले यसरी व्यवस्थापन गरेको छ,२४ घण्टे हटलाइन सेवा

१३ आश्विन, ललितपुर –ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न सुरु गरेको छ।  वि.सं. २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि मंगलबारबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले  बताउनुभयो ।

नगर प्रहरीले हटलाइन सेवा पनि शुरु गरेको छ । पुल्चोकस्थित दमकल मोडमा रहेको कार्यालयमा कन्ट्रोल रुम खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ । सो नम्बरमा सूचना आएको १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी संरचना तयार गरिएको हाछेथुले बताउनुभयो ।

यसअघि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको हटलाइन नम्बर राखेर नगर प्रहरीलाई चौबिस घण्टा नगरवासीको सहयोगमा परिचालन हुन निर्देशन दिनुभएको थियो । पुल्चोकस्थित दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा गरेको छ । सो भवनको ब्यारेकमा ७८ जना नगर प्रहरीलाई बस्ने व्यवस्था मिलाइएको छ ।

महानगरका स्थानीयले कन्ट्रोल रुपमा फोन गरेपछि रातको समयमा १५ मिनेटमा घटनास्थलमा पुग्नेगरी गाडी र रिजर्भ फौज तयारी अवस्थामा राख्न थालिएको छ । रातको समयमा हुने अनुमति बिनाका निर्माण कार्य, होर्डिङ बोर्ड र पोष्ट टाँस्ने काम रोक्न पनि नगर प्रहरी परिचालन प्रभावकारी हुने महानगरको निष्कर्ष छ ।

नगर क्षेत्रमा साँझ १० बजेसम्म नियमित ड्युटी गर्ने नगर प्रहरीले नगरवासीलाई ठुला पर्वमा बजार क्षेत्रमा किनमेल गर्ने ग्राहक र व्यापारीलाई पनि सहजीकरण गर्ने योजना लागू गरेको छ ।  रातको सयममा जात्रा पनि चल्ने हुनाले २४ सै घण्टा नगर प्रहरी परिचालन गर्दा सुरक्षामा पनि सहयोग पुग्ने नगर प्रहरी प्रमुख हाछेथुले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE