Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

नेपाली वैज्ञानिक रसायनशात्री सिता राम आचार्य भन्नुन्नुहुन्छ कोरोनाबाट बच्न यसो गर्नुस

अनुसन्धानहरुबाट यो भाइरस विभिन्न पदार्थहरुको सतहमा धेरैबेर सम्म रहनसक्ने प्रमाणित भएको छ ! यद्यपि यसको बारेमा बृहत अनुसन्धान हुन अझै बाँकी नै छ !

COVID-19 (कोरोन भाइरसले लाग्ने रोग) को बारेमा आफुलाई थाहा भएको केही कुरा शेयर गर्न उपयुक्त लागेको हुनाले सकेसम्म सरल भाषामा प्रस्तुत गर्ने जमर्को गरेको छु !
१. साबुन पानीले अहिलेको कोरोना भाइरस (SARS – CoV -2) कसरी नियन्त्रण गर्छ?
साबुन भनेको लामा-लामा फ्याट्टी एसिडको सोडियम वा पोटास्सियम लवण हो ! साबुनमा बिपरित गुण भएका दुई भाग/छेउ हुन्छन्: एउटा पानी संग आकर्षित हुने (hydrophilic वा polar end) र अर्को पानी संग घुलमिल नहुने तर फोहोर, चिल्लो पदार्थ इत्यादि संग आकर्षित हुने (hydrophobic वा non-polar end)! जब हामीले चिल्लो लागेको हात पखाल्छौँ वा मैलो लुगा धुन्छौँ, तब त्यो मैलो वा चिल्लो कुरा साबुनको एउटा भागतर्फ आकर्षित हुन्छ भने पानी साबुनको अर्को भाग तर्फ ! यसरी हाम्रो हात वा लुगा बाट चिल्लो पदार्थ वा फोहोर छुट्टिन्छ ! COVID -19 को भाइरस को बाहिरी खोल पनि घिउ वा तेल जस्तै चिल्लो पदार्थको गुण भएको पदार्थ (जसलाई lipid भनिन्छ) हो ! त्यसैले जब हामी साबुन-पानीले हात धुन्छौँ यदि हाम्रो हातमा COVID -19 को भाइरस (जसलाई SARS – CoV -2 भनिन्छ) छ भने त्यो भाइरसको खोल जबर्जस्त रुपमा साबुनको एउटा भाग (non-polar end) तर्फ आकर्षित हुन्छ र भाइरस मर्छ ! कम्तिमा २० सेकेण्ड जति साबुन-पानीले सबैतिर मिचिमिची हात धोएको खण्डमा यो प्रभावकारी हुन्छ ! यसको लागि जुनसुकै प्रकारको साबुनहरु प्रयोग गर्न सकिन्छ !
२. साबुन पानी तत्काल उपलब्ध नभएमा के गर्ने?
अनुसन्धानहरुबाट यो भाइरस विभिन्न पदार्थहरुको सतहमा धेरैबेर सम्म रहनसक्ने प्रमाणित भएको छ ! यद्यपि यसको बारेमा बृहत अनुसन्धान हुन अझै बाँकी नै छ ! पछिल्लो अनुसन्धानले यो भाइरस तामा मा ४ घण्टा, कार्ड्बोर्ड मा २४ घण्टा, प्लास्टिकमा ३ दिन वा बढी सम्म रहन सक्ने देखाएको छ ! स्टेनलेस स्टील र कुनै कुनै प्लास्टिकमा त ९ दिनसम्म रहन सक्ने पनि अनुसन्धानले देखाएको छ ! तर यो नै अन्तिम अनुसन्धान भने होइन, अनुसन्धानहरु अझै जारी छन् ! यो हावामा कति समय सम्म रहन सक्छ भन्ने कुरा अझै निर्क्यौल त भैसकेको छैन तथापि यो हावाबाट सर्ने रोग होइन भनेर डब्लु एच ओ ले भनेको छ ! दिशामा समेत यो भाइरस देखिएको छ ! संक्रमित व्यक्तिले खोक्दा / हाच्छिउँ गर्दा वा भाइरस रहेको सतहमा हातले छुँदा त्यो भाइरस हाम्रो हातमा सर्न सक्छ ! (यस्तो बेलामा जानी-नजानी मुख, नाक, आँखातिर हात लगिराख्ने वा औंलाले नाक, दाँत कोट्ट्याउने, आँखा मिच्ने जस्ता आदत छ भने त्यस्तो बानी अहिल्यै त्यागौं !)
साबुन पानी उपलब्ध छैन भने तत्कालको लागि ह्याण्ड स्यानिटाइजर हत्केलाको सबै भागमा (औंलाको कापमा समेत) पुग्नेगरी दलेर हात रगड्नु पर्छ र हात सुख्खा हुन दिनु पर्छ ! हात सुख्खा नहुन्जेल पुछ्नु हुँदैन! उपलब्ध हुनासाथ साबुन-पानीले हात धोइहाल्नु पर्छ !
३. ह्याण्ड स्यानिटाइजर ले कसरी काम गर्छ? यसका न्युनतम शर्तहरु के हुन् ?
ह्याण्ड स्यानिटाइजर अल्कोहल युक्त र नन-अल्कोहल युक्त गरी दुई खाले हुन्छन् ! अहिले बजारमा प्रचलित ह्याण्ड स्यानिटाइजरहरु मुख्यत: अल्कोहल-युक्त ह्याण्ड स्यानिटाइजरहरु नै हुन् ! ह्याण्ड स्यानिटाइजरमा रहेको अल्कोहलले भाइरस को शरीरमा रहेको प्रोटिन/ RNA नष्ट गर्छ ! यसले भाइरसमा रहेको झिल्लीलाई घोल्ने काम गर्छ ! तर यदि हात धेरै चिल्लो वा फोहोर छ भने त्यो बेला ह्याण्ड स्यानिटाइजर सोचेजति प्रभावकारी नहुन पनि सक्छ !
ह्याण्ड स्यानिटाइजरको बोतलको बाहिरी भागमा कम्तिमा ६०% ethanol वा ethyl alcohol लेखिएको हुनुपर्छ वा कम्तिमा ७०% isopropyl alcohol वा isopropanol वा 2-propanol लेखिएको हुनुपर्छ ! ६०% भन्दा कम ethanol वा ethyl alcohol छ भने त्यो ह्याण्ड स्यानिटाइजर प्रभावकारी नहुन सक्छ ! त्यस्तै ७०% भन्दा कम isopropyl alcohol वा isopropanol वा 2-propanol लेखिएको ह्याण्ड स्यानिटाइजर पनि प्रभावकारी नहुन सक्छ ! यदि ह्याण्ड स्यानिटाइजरमा methanol वा methyl alcohol लेखिएको छ भने त्यो ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्नु राम्रो हुन्छ ! Methanol वा methyl alcohol विषालु हुने भएकोले धेरै मुलुकमा methanol वा methyl alcohol युक्त ह्याण्ड स्यानिटाइजर उत्पादन गर्नु र बेच्नु गैरकानुनी मानिन्छ !
४. पदार्थको सतहमा रहेको भाइरसलाई कसरी मार्ने?
घरमा रहेका विभिन्न पदार्थ वा वस्तुहरुको सतहहरु; जस्तै भुँइ, ढोकाको चुकुल वा कब्जा, बाथरुममा छोइरहनुपर्ने ठाउँहरु, टेबल, स्विच, ह्याण्डल , इत्यादिमा ह्याण्ड स्यानिटाइजर दल्न वा साबुन पानीले सफा गर्न पनि सम्भव नहोला ! यस्तोमा disinfectant हरु प्रयोग गर्नु राम्रो हुन्छ ! म्याद ननाघेको ०.१% sodium hypochlorite नाम गरेको केमिकल (जसलाई bleach भनेर पनि चिनिन्छ) त्यस्तो सतहमा दलेर/छर्केर त्यसको १० -१५ मिनेट पछि सफा कपडाले पुछ्ने वा सफा कपडा मा spirit राखेर त्यसले एक मिनेट जति राम्रोसंग त्यो सतहमा रगड्ने हो भने कोरोना भाइरस मर्छ !
५. ह्याण्ड स्यानिटाइजर नपाइएमा के गर्ने?
उत्तम विकल्प त साबुन पानी नै हो ! तथापि डब्लु एच ओ को निम्नलिखित गाइड्लाइन अनुसार (यदि कच्चा पदार्थ पाइन्छ भने) रसायन शास्त्रको राम्रो ज्ञान भएको वा रसायन संग सम्बन्धित प्रयोगशालामा अनुभव भएको व्यक्ति मार्फत) अल्कोहलयुक्त ह्याण्ड स्यानिटाइजर तयार गर्न सकिन्छ ! एउटा भाँडोमा तलको अनुपातमा केमिकलहरू मिसाउने;
(क) ८०% ethanol भएको ह्याण्ड स्यानिटाइजर बनाउन: 833.3 millilitres of 96% ethanol, 41.7 millilitres of 3% hydrogen peroxide and 14.5 millilitres of 98% glycerol (glycerin)
(ख) ७५% isopropanol भएको ह्याण्ड स्यानिटाइजर बनाउन: 751.5 millilitres of 99.8% isopropyl alcohol, 41.7 millilitres of 3% hydrogen peroxide and 14.5 millilitres of 98% glycerol.
त्यसपछि यो मिश्रणमा डिस्टिल्ड वाटर हालेर उक्त मिश्रण १ लिटर पार्ने (डिस्टिल्ड वाटर नभएको खण्डमा त्यसको सट्टामा उमालेर चिस्याइएको सफा पानी पनि प्रयोग गर्न मिल्छ), अनि भाँडोमा रहेको मिश्रण राम्रोसंग घोल्ने ! अब ह्याण्ड स्यानिटाइजर तयार भयो !
अन्तमा, स्वस्थ रहौं, सुरक्षित रहौं अनि अरुलाई पनि स्वस्थ रहिरहन मद्दत गरौँ !
सन्दर्भ श्रोत: WHO, CDC USA, बिभिन्न जर्नल तथा लेखहरु

WRITE COMMENTS FOR THIS ARTICLE