पूर्वराजाको सवारी पास किन रद्ध गरियो र फेरी किन दिइयो ?
गृह मन्त्रालयको अनुमति लिएर मात्रै पास जारी गर्नुपर्ने प्रावधान लागु भएको अवस्थामा पक्रिया नपुगेले तत्काल रद्द गरेको थियो
काठमाडाैँ-पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाण्डू फर्कनका लागि दिइएको सवारी पास रद्ध गरिएको दुई घण्टाभित्रै उपलब्ध गराइएको अधिकारीहरूले दाबी गरेका छन् । लकडाउनका बेला काठमाण्डू प्रवेश गर्ने सवारी साधनहरूमा कडाइ गरिएका कारण पूर्वराजाका लागि जारी गरिएको पास फिर्ता लिइएको थियो ।पूर्वराजाको सवारी पास रद्ध गरिएको सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा केहीले विरोध गरेका थिए । लकडाउनकै बेला नेता तथा अन्य व्यक्तिहरू निर्बाध रूपमा यात्रा गरिरहेका बेला पूर्व राजपरिवार माथि गरिएको व्यवहार राम्रो नभएको भन्दै सरकारको निर्णयको आलोचना गरिएको थियो ।
केही हप्ता अघि मात्रै सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट केही नेता तथा नेपाल प्रहरीका प्रमुख समेत रहिसकेका सर्वेन्द्र खनाल सहितको टोलीले काठमाण्डू ल्याएका थिए । त्यसबेला कुनै पनि निकाय बाट रोकटोक भएको थिएन । पूर्व राजा र उनकी पत्नी कोमल पछिल्ला केही महिनादेखि दमकस्थित हिमालयन टी गार्डेनमा बसिरहेका थिए । झापाका प्रमुखका अनुसार बिहीवार पूर्व राजाको यात्राका लागि सवारी पास जारी गरिएको थियो । सामान्य प्रक्रिया स्वरूप आफूहरूले पास जारी गरेको तर गृह मन्त्रालयको अनुमति लिएर मात्रै पास जारी गर्नुपर्ने प्रावधान लागु भएको अवस्थामा झापा प्रहरीले उक्त पास पक्रिया नपुगेको भन्दै तत्काल रद्द गरेको थियो ।

झापा प्रहरीका अनुसार पहिलो पटिक बिहीबार साँझ सवारी पास जारी गरिएको थियो । लगत्तै रद्द गरिएको उक्त पास गृह मन्त्रालयबाट करिब ६ बजे निर्देशन प्राप्त भए पछि पुनः जारी गरेर करिब ७ बजे नै उपलब्ध गराइएको प्रहरीले जनाएको छ । प्रहरीले यो प्रक्रियागत त्रुटि भएको स्वीकारेको छ । तर पूर्व राजा स्रोतका अनुसार पास राति १० बजे मात्रै जारी गरिएको हो । स्रोत भन्छ सरकारकै निर्देशनमा पनि खासमा झन्डावाला गाडी वा सुरक्षाकर्मीहरूले पहरा दिएको गाडिलाई पास नचाहिने खाले व्यवस्था उल्लेख गरिएको छ । तर पूर्व राजाले देशको कानुन पालना गर्दै प्रशासनको अनुमति लिन चाहनु भएको हो तर त्यसमा पनि झुक्याउने काम भयो । तर वास्तविक के भएको हो त्यो अझै बुझ्न बाँकी छ ।
केही हप्ता अघि मात्रै नेपाली कांग्रेसका नेता कृष्ण सिटौला आफ्ना छोराको विवाहका क्रममा काठमाण्डूबाट परिवारसहित झापा पुगेका थिए । त्यस बाहेक अन्य नेता र विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि निर्बाध रूपमा हिँडिरहेको विवरणहरू बेला बेलामा आउने गरेका छन् । पछिल्लो परिस्थितिमा अब त्यस्तो गर्न सम्भव हुने छैन । विशेष गरी काठमाण्डू प्रवेश गर्न चाहनेहरूका लागि कडाइ गरिएको छ ।
आज (शुक्रवार) बिहान ८ बजे पूर्व राजा सहितको ४ वटा गाडी काठमाण्डूतर्फ हिँडेको बताइएको छ । अगुवा पछुवासहित सुरक्षाकर्मीको दुईवटा गाडी, पूर्व राजा र उनकी पत्नी सवार गाडी र उनको सचिवालयका सदस्य रहेको अर्को एउटा गाडीलाई अनुमति दिइएको जनाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE