Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

प्रधानमन्त्री र गृहमन्त्रीबीच दूरी बढ्यो, प्रहरी प्रमुख नियुक्ति अन्यौलमा

नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी) चयन गर्न दुई दिन मात्रै बाँकी छ । तर यहिबेला सरकारकै नेतृत्वको मागसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ ।जसकाकारण सरकार र प्रधानमन्त्री मन्त्रीहरु नै रहने–नरहने भन्ने तहको खिचातानी भइरहेका बेला प्रहरी प्रमुख चयन गर्ने विषयले प्राथमिकता नपाउने वा पछि धकेलिने पो हो कि भन्ने खतरा पनि बढेको छ ।
दुई दिनपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनु पर्नेमा मन्त्री र प्रधानमन्त्रीका बीचमा दूरी बढ्दै गएको छ । लामो समय पार्टीभित्रको कित्तामा नखुलेका गृहमन्त्री रामबहादुर थापा समेत गतसातादेखि प्रधानमन्त्रीको विपक्षी कित्तामा खुलेर लागेका देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने नेताहरुको भेलाहरुमै गृहमन्त्री थापा सहभागी हुनुभएको छ ।
यो अवस्थामा प्रधानमन्त्री र गृह मन्त्रीबीच सौहार्द रुपमा परामर्श भई प्रहरी महानिरीक्षक (आईजी) तोक्ने संभावना देखिँदैन । जसका कारण दुईदिनमै महारिरिक्षकको नियुक्ती होला–नहोला भन्ने अड्कलबाजी सुरु भएको छ ।
असार २४ मा प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले अनिवार्य अवकास पाउँदै हुनुहुन्छ । गत माघ २८ गते छोटो समयका लागि प्रहरी संगठनको नेतृत्व सम्हाल्नु भएका ज्ञवाली देशव्यापीरुपमा लागु भएको लकडाउन सम्हाल्दा सम्हाल्दै कार्यकाल समाप्त भएर विदा लिदै हुनुहुन्छ । ज्ञवाली बिदा हुने दिन निश्चित भएपनि उहाँपछिको आईजीपी को हुने भन्नेबारे भने अन्यौल हुने देखिएको छ ।
आईजीका लागि अतिरिक्त महानिरीक्षकद्वय (एआईजी) शैलेश थापा क्षेत्री र हरिबहादुर पाल दावेदार छन् । पहिलो नम्बरका एआईजी तारिणीप्रसाद लम्साल ज्ञवालीसँगै अवकास पाउँदैछन् । त्यसैले आईजीका दावेदार दुई एआईजी मात्रै छन् । प्रहरीका सरुवा बढुवासम्बन्धी नियमावलीमा केहि अस्पष्टता छन् । जसको फाइदा सत्ता नेतृत्वले उठाउँदै आएका छन् । नियमावलीमा प्रस्ट नभएकै कारण अन्तिम क्षणसम्म पनि को नेतृत्वमा पुग्छ भन्ने टुंगो हुँदैन ।
प्रहरी नेतृत्व चयन गर्दा सत्ताले चाहे वरियता र कार्यमुल्याङकनलाई पनि लत्याइएका उदाहरण प्रशस्त छन् । पछिल्लो समय ज्ञवाली विवादरहित रुपमा नेतृत्वमा पुग्नुका साथै बिदा हुँदैछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE