स्वास्थ्य पूर्वाधारमा सुधारउन्मुख हुँदै कर्णाली प्रदेश
कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शय्या आइसियू र २६ वटा भेन्टिलेटर थपिएको छ ।
वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा हाल २० शय्या आइसियू र सात वटा भेन्टिलेटर जडान गरिएको छ । योसँगै अस्पतालमा आइसियूको सङ्ख्या २५ र भेन्टिलेटरको सङ्ख्या १० पुर्याइएको छ । सङ्घअन्तर्गत सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रदेश सरकारको सहयोगमा पूर्वाधार थप गरिएको छ । यसअघि आइसियू तीन शय्या र भेन्टिलेटर पाँच रहेकामा कोरोना महामारी बढेसँगै त्यहाँ आइसियू शय्या १० र भेन्टिलेटर छ पुु¥याइएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना महामारीअघि जुम्ला र सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा आइसियू र भेन्टिलेटर सेवा थिएन । सामान्य बिरामीलाई समेत सुर्खेत पठाउनुपर्ने बाध्यता थियो । हाल डोल्पाबाहेक सबै जिल्ला अस्पतालमा आइसियू र भेन्टिलेटर जडान गरिएको छ । डोल्पामा पनि छिटै जडान गर्ने प्रदेश सरकारको तयारी छ ।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले कोरोना महामारीकै अवधिमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी ३ सय शय्याको पूर्वाधार विकास गरिएको जनाएको छ । त्यस्तै, हरेक जिल्ला अस्पताललाई कम्तीमा ५० शय्याको लागि भौतिक व्यवस्था हुने गरी स्रोत साधनको व्यवस्थापन गरिएको छ ।
सामाजिक विकासमन्त्री दल रावलले कोरोनाले चुनौती मात्र नभई स्वास्थ्य क्षेत्रमा लगानी गर्ने विशेष अवसर दिएको बताउनुभयो । “स्थापनाको वर्षौंसम्म आइसियू र भेन्टिलेटर नदेखेका अस्पतालले पाँच महिनामै ती सेवा सञ्चालन गरेका छन्,” उहाँले भन्नुभयो, “गम्भीर बिरामीलाई पनि जिल्लामै उपचार गर्न सकिने वातावरण सिर्जना गरिएको छ, यो ठूलो उपलब्धि हो ।” मन्त्री रावलले पूर्वाधार निर्माण, औषधि उपकरणसँगै जनशक्ति व्यवस्थापनमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । आइसियू र भेन्टिलेटर पुगेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर छिटै सेवा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका २७ स्थानमा विशेषज्ञ उपचार सेवा शुरु गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा २५ शय्या आइसियू, सात भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० आइसियू र छ भेन्टिलेटर, मुगु जिल्ला अस्पतालमा दुई शय्या आइसियू र एक भेन्टिलेटर, हुम्लामा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर थप गरिएको छ ।
त्यस्तै कालीकोटमा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर, दैलेखमा पाँच शय्या आइसियू र दुई भेन्टिलेटर, जाजरकोटमा दुई शय्या आइसियू र एक भेन्टिलेटर र रुकुमपश्चिम मुसीकोट जिल्ला अस्पतालमा दुई शय्या आइसियू र एक भेन्टिलेटर सेवा थपिएको छ । सल्यानमा दुई शय्या आइसियू, एक भेन्टिलेटर, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा चार शय्या आइसियू र तीन भेन्टिलेटर सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेशमा हाल २० अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, ३३५ स्वास्थ्य चौकी, एक आयुर्वेद औषधालय र ३ सय ४ बर्थिङ सेन्टर सञ्चालित छन् ।
यसैबीच, कर्णालीका सबै जिल्लामा सहज अक्सिजन पु¥याउने उद्देश्यले सुर्खेतमा ठूलो क्षमताको अक्सिज प्लान्ट शुरु गर्न लागिएको छ । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट शुरु गर्न थालिएको बताउनुभयो । यसअघि प्रदेश अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर अक्सिजन उत्पादन हुन्थ्यो । हाल त्यसको क्षमता वृद्धि गरेर ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी काम थालिएको हो । अक्सिजन प्लान्ट शुरु गर्न ठूलो क्षमताको मेसिन ल्याइएको छ । कोरोनाका कारण जडान गर्ने प्राविधिक आइपुगेका छैनन् । झण्डै रु. तीन करोडको लगानीमा अक्सिजन प्लान्ट शुरु हुन थालेको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये जुम्ला र सुर्खेतमा मात्रै अक्सिजन प्लान्ट छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE