Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

कविता : असल आइमाई

कविता
असल आइमाई

-विमला सिंह (विधाश्री)

तिम्रो कुमारित्त्वको जालो च्यात्दै
एक कुमारी काखमा आएदेखी
तिमिले आफ्नो मातृत्व निभाउदै
धेरै सिकायौ,कति सम्झायौ, सधैं सुनायाैँ
र त म असल आइमाई बने
तल्लाघरे काकाले भोटो च्यातिदिदा
तिमिले मुख सिलाइराख्नु भन्याैँ रत
कसैले मुख फोडेर मेरो चरीत्र गाएनन्
भीडमा
कतिका नजरले निचोडे यी स्तन,
कतिका क्रूर हेराइले ठुङ्गे कलिला यौनीहरुमा,
कतिका बचनले चिमोठे यो कम्मरमा,
तर,
तिमीले एकान्तमा
नचिच्याउनु भनी सम्झाइरहन्थौँ,
त्यसैले त कुनै मुखले कहिल्यै मलाई चोथाले भनेनन्,
तिमीले सिकायौँ
मेरा अश्लील तिघ्राहरुलाई संस्कारको गुन्युले छोप्न,
मेरा अबोध नजरहरुलाई स्वाभिमानको घुम्टोले निहुँर्याउन,
अनि पो म संस्कारी भए
तिमिले सुनायाैँ
दाजुको बलियो पुरुषत्व मुनि पिल्सिएको
भाउजूको यौवन कहिल्यै रोएन,
बाजेका गरुङ्गा बचनले थाकेका कान बज्यैले कतै बिसाइनन्,
बा को भयुका नेलले कुज्जिएका तिम्रा पैताला तिमिले पनि कहिल्यै तन्काइनौ, कतै दौडाइनौँ
अनि पो मैले सहनशीलताको पाठ जाने
तर तिम्री छोरी बेलाबखत बिर्सी जान्छे
तिमिले कण्ठ पार्नु भनेको संस्कारको पाठ
कहिल्यै नभुल्नु भनेका अनुच्छेदहरु
तिमिले सिकाएजस्तो उ मनमनै चिच्याउदिन
उसले मुखको उपयोग गर्न जानेकीछे,
उ शिर उठाएर संसार हेर्ने दुस्साहस गर्छे,
आफ्नो स्वतन्त्रताको परिधी धेरै खुकुलो बनाउन खोज्छे,
जहाँ सहजै अट्न सक्छन् उसका सपनाहरू
खुब दौडाउछे आफ्ना पैताला जबसम्म थाक्दैनन् उसका रहरहरु
मन्दमष्तिस्ककी उ बिस्तारै बिस्तारै बिर्सदैछे सबै
त्यसैले तिमी सम्झाइ रहनु उसलाई
नमाने तर्साउनु
सुनाएर,
पल्लाघरे सीता,
तल्लाघरे कमला,
पारी गाउँकि पुष्पाका बिरहहरु
अझै नटेरे
डराउनु
सुनाएर
रामेको पाखुराको बल,
हरिको पदको ताकत,
श्यामेका झोकका किस्साहरु
उसले स्वतन्त्रता भन्दा तिमी संस्कार पढाउनु,
उसले बिद्रोह गर्दा तिमी लाज सिकाउनु
यसरी तिमी उसलाई असल आइमाई बनाउनु
उ उ बनिभने अश्लील भन्लान्, असभ्य भन्लान्
त्यसैले उसलाई उ बन्ने छुट कहिल्यै नदिनु ।।

WRITE COMMENTS FOR THIS ARTICLE