Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

प्रमाण सडकमा देखाउने होइन : बाबुराम भट्टराई (अन्तर्वार्ता)

३० असोज
काठमाडौँ—पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेता बाबुराम भट्टराईले प्रधानमन्त्री (केपी शर्मा ओली) र दुई पूर्वप्रधानमन्त्री (पुष्पकमल दाहाल र शेरबहादुर देउवा) ले बुढीगण्डकी परियोजनामा ९ अर्ब भ्रष्टाचार गरेको अभिव्यक्ति दिएपछि यसले तरंग पैदा गरेको छ ।

यद्यपि सत्तारुढ दल नेकपाका प्रवक्ता र प्रमुख प्रतिपक्षी कांग्रेस प्रवक्ताले भिन्दाभिन्दै विज्ञप्ति निकालेर आरोपलाई पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका छन् । भट्टराईले पनि छानबिन माग गर्दै यसमा आफूले सहयोग गर्ने बताएका छन् । यसै विषयमा भट्टराईसँग कान्तिपुरकी बबिता शर्माले गरेको कुराकानी :

केही दिनअघि गृहजिल्ला गोरखा पुगेर प्रमुख दलका शीर्ष नेताले बुढीगण्डकी परियोजनामा ९ अर्ब भ्रष्टाचार गरेको भन्नुभयो । लोकप्रियता कमाउने मेसो होइन भने यही बेला यो मुद्दा कसरी उठ्यो ?

बाबुराम भट्टराईको जीवन हेर्नुहुन्छ भने उसले लोकप्रियता हैन सत्य र न्यायको निम्ति जीवन समर्पण गरेको छ । जहाँसम्म भ्रष्टाचारको मुद्दा छ, देश यति नराम्रोसँग दलदलमा फँस्दै गएको छ कि अर्बौंभन्दा बढीका भ्रष्टाचार काण्डहरु दर्जनौं छन् । यो विषयमा मैले संसद, संसदका समितिहरु, मिडियाबाट निरन्तर बोल्दै आएको छु । यो कुनै नौलो कुरा हैन । दूर्भाग्यवश, विगतमा मान्छेले सुन्दैनथे । अहिले सुन्न थालेका छन् । त्यसमा म खुसी छु । मैले आजीवन सुशासन, सदाचार, परिवर्तनको निम्ति आवाज उठाइराख्छु । यसमा कसैले अन्यथा नमान्दा हुन्छ । इतिहासले मलाई सही सावित गर्छ भन्नेमा म ढुक्क छु ।

तर, तपाईंको आरोपको दुवै दलले खण्डन गरेर प्रमाण देखाउन चुनौती दिएका छन् नि ?

प्रमाण सडकमा देखाउने होइन । यसको उच्चस्तरीय छानबिनको निम्ति अधिकार सम्पन्न जनलोकपालको व्यवस्था हुनुपर्छ भन्ने मेरो संविधानसभा बेलादेखिको मत छ । भ्रष्टाचारीविरुद्ध हामीले जेजस्ता संयन्त्र निर्माण गरेका छौं, ती अत्यन्त कमजोर छन् । तिनीहरुले कुनै पनि यस्तो छानबिन अगाडि बढाएका छैनन् । बरु उल्टो मेरो चुनौती के हो भने सत्तामा हुनेहरुले यसलाई स्वीकार गरेर छानविन गर्नुप¥यो नि त ! उहाँहरुलाई यो आरोप हो भन्ने लाग्छ भने सम्बन्धित निकायलाई अगाडि बढ्न प्रेरित गरेर, निर्देशित गरेर छानबिन गर्नुप¥यो नि त ।

आधारहीन आरोप लगाउनु भएको भन्दै नेकपा प्रवक्ताले त क्षमायाचना गर्नुपर्ने समेत माग गरे । अब के गर्नुहुन्छ ?

हा हा हा…। यो त मजाक भैगो । जस्केलाबाट छिरेर सत्तामा र्याल काड्नेहरुले क्षमायाचना गर्नुपर्ने हो कि सत्य र निष्ठाको निम्ति निरन्तर लाग्ने मान्छेले क्षमायाचना गर्ने हो ? नेपाली जनताले पटक–पटक फैसला गरेका छन् । फेरि पनि गर्नेछन् । त्यसमा म ढुक्क छु । यस्ता बेतुकका भनाइहरुको कुनै खण्डनरमण्डन गर्न आवश्यक ठान्दिनँ ।

सत्तारुढ दलले यस्ता आरोपको खण्डन गर्ने स्वाभाविक होला, विपक्षी एक कदम अगाडि बढेर भ्रष्टाचार भएको छैन भन्नुको भिन्दै राजनीतिक अर्थ हुन्छ कि ?

दलको कुरै हैन यो । व्यक्ति र प्रवृत्तिका कुराहरु हुन् । भ्रष्टाचार भनेको रोग हो, क्यान्सर हो । जो कसैलाई पनि लाग्न सक्छ । त्यसैले त्यसको निवारण गर्न सबै लाग्नुपर्छ । मैले प्रश्न उठाएको पार्टी वा व्यक्तिप्रति हैन । रोगप्रति हो । जुन संरचनागत ढंगले नै राज्यसत्ताको दोहन गर्ने, आसेपासे पोस्ने र देशलाई लुट्ने प्रवृत्ति बढ्दै गयो त्यसले संस्थागत आकार लिँदैछ । त्यसलाई बेलैमा रोकौं र त्यसको निवारणका निम्ति उपयुक्त व्यवस्था गरौं भन्ने मेरो आग्रह छ । पार्टीप्रति यो लक्षित हैन, कुनै भ्रम नरहोस् ।

तपाईंले आफूसँग भएको प्रमाण कहिले र कहाँ बुझाउनुहुन्छ वा सार्वजनिक गर्नुहुन्छ ?

मैले माग गरेको छु नि त यसको उच्चस्तरीय छानबिन होस् भनेर । बुढीगण्डकी, एनसेल, यति, ओम्नी, सेन्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा व्यापक रुपमा भ्रष्टाचार भएको भनेर आमजनताले उठाउँदै आएका मुद्दा छन् । यिनलाई हल गर्न अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरियोस् । त्यहाँ मैले पूर्णरुपमा सहयोग गर्छु । अन्यथा ठहरेमा म दण्डित हुन तयार छु । यो मैले पटक–पटक भनेको छु ।

अख्तियार छ, संसदको लेखा समिति छ । फेरि किन चाहियो जनलोकपाल भन्ने कुराहरु पनि छन् नि ?

ठीकै छ, भएका संरचनाबाट छानबिन गराए भयो नि त त्यसो भए । उहाँहरुले गर्नुहुन्छ ? पाएको प्रमाणमा त केही गर्न सक्नु हुन्न ! संस्थामा राम्रा मान्छेहरु पनि हुनुहुन्छरपर्नुहुन्छ । तर, यो संस्था यति कमजोर बनाइएको छ कि त्यसले कुनै पनि ठूला भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्ने हैसियतै राख्न सक्दैन । त्यसलाई अझ स्वतन्त्र, निष्पक्ष र अधिकार सम्पन्न बनाइयोस् भन्ने आग्रह हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE