Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एमालेको नेता पाण्डे र भुसाल पनि निलम्बित

२० चैत
काठमाडौं –
एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। पाण्डे र भुसालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले बिहीबार निलम्बन गरेका हुन्। अर्का नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई यसअघि नै निलम्बन गरिएको छ।

एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए। चैत १२ मा स्पष्टीकरण दिएका नेपाल र रावल १६ गते ६ महिनाका लागि निलम्बनमा परेका हुन्। पाण्डे र भुसालले त्यसबेला जवाफ नदिएपछि चैत १६ मा दोस्रोपटक २४ घण्टाभित्र स्पष्टीकरण मागिएको थियो। त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए।

पार्टीविरोधी काम गरेकोलगायत पाँच आरोप लगाउँदै पाण्डे र भुसाललाई निलम्बन गरिएको हो। अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने अध्यक्ष ओलीले जनाएका छन्। नेताद्वयलाई सच्चिन यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने’, अध्यक्ष ओलीले पठाएको निलम्बनसम्बन्धी पत्रमा लेखिएको छ, ‘एकैपटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दसौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू ९प्रतिनिधिसभा सदस्यताबाहेक० तथा पार्टी सदस्यबाटै हाललाई ६ महिनाको लागि निलम्बन गरिएको छ।’

आफ्नो भूल स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मालोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रूपमा देखिएको निलम्बनपत्रमा उल्लेख छ। निलम्बनपत्रमा लेखिएको छ ‘आपराधिक क्रियाकलापहरू स्वीकार्ने, भूलसुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरूप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो।’

भुसालले ओलीलाई सत्ताभोगको अतृप्त तृष्णाले आफूबाहेक केही नदेख्ने बनाएको बताए। ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई म र मेरोबाहेक केही नदेख्ने बनाएको छ। म बस्न नपाउने कुर्ची भाँची दिन्छु। यो उनी आफैंले कबुल गरेको जीवन दर्शन हो’, भुसालले फेसबुकमा लेखेका छन्, ‘एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ।’

WRITE COMMENTS FOR THIS ARTICLE