Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

कोभिड महामारी र संक्रमित राजनीति

एसियाली मुलुक चीनबाट सन २०१९ को अन्तिमतिर उत्पति भएको कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दास्रो लहरले एसियाली मुलुक भारत र नेपाललाई अत्यधिक आक्रान्त पारेको छ । युरोप, अमेरिकन देशहरुमा पहिलो लहरले जति प्रभाव पारेको थियो त्यो भन्दा बेसी दास्रो लहरले हामी कहाँ असर गर्दैछ ।
दिनहुँ हुने मृत्युदर र संक्रमण दर पनि उत्कर्षमा पुगिरहेको छ । प्रतिशतमा गणना गर्दा नेपालको संक्रमण दर भारतको भन्दा पनि बढी देखिन्छ ।

जनस्वास्थ्यविद, विश्व स्वास्थ्य संगठनले संक्रमणका हिसाबले नेपाल अझै उच्च जोखिम रहेको चेतावनी पटक पटक दिइरहेकै छन । विषेशगरी फागुनदेखि नेपालमा नयाँ भेरियन्ट सहितको कोरोनाको दास्रो लहर भित्रिएको थियो तर पुर्व तयारी, जनशक्ति व्यवस्थापन, औषधी उपचार, परीक्षणको व्यवस्थापन, नियन्त्रणको समग्र योजनामा तीनवटै तहका सरकार कुहिरोको काग बनिरहे । किनकी कोरोना भन्दा महासंक्रमण नेपालका राननीतिक दलहरु र सरकारहरुमा भएको थियो । पुष ५ को संसद विघटन पश्चात चरम संक्रमणमा पुगेको राजनीति अहिले सम्म पनि संक्रमणमुक्त हुन सकिरहेको छैन । जुन प्रकारको सत्ता र कुर्सीको महामारी छ, त्यसले जनताको जीवन रक्षा, स्वास्थ्य उपचार प्राथामिकतामा पर्न सकेनन ।

राजनीतिक दलहरु र सरकारका प्राथामिकता सरकार गिराउने टीकाउने, सडकमा नारा घन्काउने उफ्रिने, संसद किन्ने बिक्री गर्ने, अपहरण गर्ने, कमिसन माग्ने, अनियमितता गर्ने आदि जस्ता कार्यहरु परे । जनताको कुनै मतलब भएन । जो शक्तिमा छन, सत्तामा छन उनीहरुले उपचार पाएकै छन । उनका आफन्तले हेलिकप्टरमा उद्धार पाएकै छन, अस्पतालमा बेड पाएकै छन्, अक्सिजन पाएकै छन तर सर्वसाधारण जनता अस्पतालको चौरमा, गेटमा, घरकै काठोमा एउटा सिटामोलको ट्यावलेट नपाएर मरिरहेका छन ।

गत पुष महिना देखि राजनीतिक रुपमा चरम संक्रमित सरकारहरुले फागुन÷चैत देखि तीव्ररुपमा कोरोनाको संक्रमण फैलिएको पत्तै पाएनन । प्रत्येक टोलटोलमा, गाउँबस्तीमा मानिसहरु संक्रमित छन जाँच गर्न पाएका छैनन । उपचार नपाएर मरिरहेका छन । अस्पतालहरुमा बेड छैन, अक्सिजन छैन, खुला चौरमा बिरामीहरु पालो कुरेर छट्पटाईरहेका छन । कयौँ बा–आमालाई सन्तान बचाउनु छ, कयौँ छोराछोरीहरुलाई अभिभावक बचाउनु छ, कयौँ श्रीमान÷श्रीमतीहरुलाई जीवनसाथी बचाउनु छ । पैसाको खालो बगाउन तयार छन, पुरै श्री–सम्पत्ती अस्पतालमा बुझाउन तयार छन तर आफन्तजनहरु जिवित फर्काउन सफल भएनन । तर उता जनता मरुन या बाँचुन मतलब भएन कुर्सी÷पद बचाउन पैसाको खोलो बगाए, कराडौँका ब्रिफकेस बुझाए, स्वस्थ मानिस (संसद) बिरामी बनाई अस्पताल भर्ना गराए, मान्छे बन्धक बनाए सफल भए । केही समय अगाडी पद छोड्छन पुन नियुक्ति हुन्छन । केही मान्छे (माननिय¬) रिसोर्टमा लैजान्छन खे के जाते मन्त्र गर्छन एकैछिनमा समर्थन, समर्थन फिर्ता, तटस्थ बस्ने आदि विज्ञप्ति निस्कन्छन । यता उनै शासकहरु पदमा आसिन भएकै दिन दशाैँ हजार जनता कोभिड संक्रमित हुन्छन, अढाई सयको मृत्यु हुन्छ तर उनीहरुलाई बालै छैन किनकी उनीहरु विजयी भएका छन, कुर्सी पाएका छन, पद पाएका छन् ।

राजनीति टीकाउन, पार्टी फुटाउन, मिलाउन रिर्माेट अन्तैबाट चल्छ, रेष्टुरेन्ट र रिर्साेटहरुमा रात्रीकालिन भोज गर्छन । अझ स्वाधिनता, स्वाभिमान र राष्ट्रियताका खोक्रा नारा लगाएर अब्बल राष्ट्रिवादी हुने प्रतिस्पर्धा गर्छन । अब्बल कम्युनिष्टका राष्ट्रवाद, नाकाबन्दीमा प्रतिष्ठा कमाएकाहरु का राष्ट्रवाद, चुच्चे नक्सा जारी गर्ने, सबै सबैका राष्ट्रवादका असली मुकुन्डाहरु यहीबेला देख्न पाईयो । सीमा पारी गएर आफ्नै देशतिर फर्किएर ढुङ्घा हान्ने राष्ट्रवादी नेपाली त हामीले देख्दै र भोग्दै आएका थियाँै । त्यो भन्दा खतरा राष्ट्रवाद यो बेला देखियो । जनता बटुन्ल राष्ट्रवादी, सत्ता प्राप्त गर्न लम्पसारवादी । उनीहरुदलाई सत्ता पाउन जे गरे नि छुट नै हुदाँे रहेछ । आखिर उनीहरु सधै शासक हुन हामी शासित, उनीहरु मालिक हुन हामी रैती, फरक यही त हो । चुनावमा सबैको एउटै नारा हुन्छ हामी जनताको पार्टी, जनताकै लागी लडदै आएका छौ जनता कै लागि लड्छौ । सबैले पटकपटक पत्याए पनि होलान भोट हालेर जिताए, पठाए तर यस्तो महामारीमा जनतातिर कन्नो फर्काएर बसेका छन । साँच्चिकै जनताका लागि निर्माण भएका पार्टी÷सरकार हुन्थ्यो भने कसैले अकालमै मर्नुपर्ने थिएन । जनताको निम्ति काम गरेको भए प्रर्याप्त मात्रामा अस्पताल हुन्थे, अस्पतामा बेड हुन्थे, बेडमा अक्सिजन हुन्थे, भेन्टिलेटर हुन्थे, औषधी हुन्थ्यो, उपचार हुन्थ्यो । केही सिमित ठाउँ बाहेक अन्यत्र कतै प्रबन्ध छैन । उनीहरु आलिसान महलमा आसिन छन, सामाजिक संजालमार्फत घरमै बस्नु सुरक्षित रहनु भन्ने मात्रै सन्देश दिन्छन तर अक्सिजन दिदैनन ।

अहिलेको अवस्थामा कोरोना महामारी र राजनीतिक संक्रमण जसरी नेपालमा फैलिएको छ त्यसको नियन्त्रण र निराकरण हुन जरुरी छ । कोरोनाको यो दास्रो नयाँ लहर भारतबाट शुरु भएको छ जुन विगतको भन्दा निकै खतरापूर्ण छ । मानिसहरुको संक्रमण बृद्धि र मृत्युदर हाम्रो जस्तो सानो मुलुकमा भयानक नै हो । यस्तो अत्यधिक प्रभाव पहिलो चरणको महामारीले पार्न सकेको थिएन । त्यसरी नै राजनीतक माहोल संक्रमित हुनमा पनि दक्षिणतिर कै ठुलो भूमिका रहेको छ । मध्यरातमा भारतीय गुप्तचर संस्थाका एजेन्टहरु आएपछि राजनीतिक बृत युटर्न हुन्छ, । केही मिनेटमै राजनीतिक दलका प्रतिनिधिहरुको बोली परिवर्तन हुन्छ । नेपालको राजनीतिक मामिलामा पटक पटक दक्षिणी भाइरसले प्रभाव पार्दै आएको थियो, त्यो भन्दा पनि दोब्बर शक्तिशाली भएर अहिलेको राजनीतिलाई संक्रमित पारेको छ । यो बेला कोरोना महामारी जुन गतिमा फैलिरहेको छ, जनताको जीवन तहस नहस पारिरहेको छ, अर्थतन्त्र धरासायी बनाएको छ, यसको पुरै कभर राजनीतिक महामारीले गरेको छ । समाचार, खबर, सामाजिक संजालमा पुरै राजनीतिक चर्चा परिचर्चा यसरी भएको छ कि नेपालमा कोरोना संक्रमण शुन्य छ । जनताको चित्कार सुनिएको छैन, आँसु देखिएको छैन ।

यो परिस्थितिमा देखिएको जुन राजनीतिक संक्रमण छ त्यसलाई तुरुन्तै थाती राख्न जरुरी छ । राजनीतिक संक्रमणलाई यहि थाती नराखी अझैपनि राजनीतिक दाउपेच मै लाग्ने, सत्ताकै झगडामा अल्झिराख्ने हो भने कोरोना संक्रमण नियन्त्रण हुने सम्भावना छैन । अहिले जो जहाँ छौ, जुन ठाउँमा उभिएका छौ त्यहीबाट कोभिड महामारीको बिरुद्धमा एक जुट भएर डटौँ । जुन प्रकारका राजनीतिक आरोप प्रत्यारोप, घोचपेच चलेका छन, सरकार गिराउने टिकाउने खेल चलेका छन, त्यसलाई तरुन्तै थाति राखेर जनताको जीवन रक्षा गर्न ध्यान दिउँ ।

राजनीतिक चौका दाउ हान्ने अवस्था यो होइन, एकले अर्काेलाई सराप्ने अवस्था हुँदै होइन । दिन प्रतिदिन जनताहरुको जीवन वर्बाद भैइरहेको छ, ती कुनै अमुक पार्टीका होइनन, जनता सबैका साझा हुन । अझ त्यो भन्दा बढी जनता राज्यका हुन, सरकारका हुन । उनीहरुको जीवन रक्षा नै सवै राजनीतिक दलहरु, सरकारहरुको पहिलो प्राथामिकता हुनुपर्छ । तीनै तहका सरकार, राजनीतिक दल, उनीहरुको भातृ संगठन सबैलाई समन्वय र सहकार्यमा लगि परिचालन गर्दे महामारी नियन्त्रणका आवश्यकताहरुको कमी हुन नदिई जीउधनको सुरक्षा गर्नु प्रमुख आवश्यकता हो । कोभिड महामारी नियन्त्रण गर्न सकियो भने, जनताको जीवन रक्षा गर्न सकियो भने, संक्रमित राजनीतिको उपचार गर्न आम जनता चुनाव मार्फत लाग्ने नै छन ।

भुपाल सिंह ठकुरी
सुर्खेत

WRITE COMMENTS FOR THIS ARTICLE