खनाल–नेपाल समूहका १७ भ्रातृ संगठनको चेतावनी : जेठ २ मा नफर्के पार्टी विसर्जन
२० जेठ, काठमाडौँ – नेकपा एमालेको खनाल–नेपाल समूह पक्षधर १७ जनसङ्गठनले सबै संरचना २०७५ को जेठ २ को अवस्थामा नफर्किए पार्टी विसर्जन हुन सक्ने घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति निकालेर जनवर्गीय सङ्गठनका प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई पुरानै अवस्थामा फर्काउन सहमत नभए नयाँ ढङ्गले पुनर्गठन गरेर अघि बढ्ने घोषणा गरेका हुन् ।
आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको भन्दै उनीहरूले अध्यक्ष ओलीले अवैधानिक काम गर्दै आएको र ती सबै खारेज योग्य रहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा देखिएको समेत उनीहरूले विज्ञप्तिमार्फत बताएका छन् ।
यस्तै उनीहरूले पार्टी विधान विपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिस्ट आन्दोलन सङ्कटमा परेको बताएका छन् । संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णय सच्याएर सुदृढ र एकताबद्ध नेकपा एमाले निर्माणका लागि आग्रह गर्दै उनीहरूले माग पूरा नभए नयाँ शिराबाट अघि बढ्ने चेतावनी दिएका हुन् ।
किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटा, महिला सङ्घकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, युवा सङ्घका नरेश शाही, प्रेस चौतारीका विश्वमणि सुवेदीलगायत १७ जनवर्गीय सङ्गठनका प्रतिनिधिले संयुक्त विज्ञप्तिमार्फत यस्तो अपिल गरेका हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE