Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

चेपाङ छात्रावास बनाउँदै नगरपालिका

चेपाङ छात्रावास बनाउँदै नगरपालिका

२१ जेठ, चितवन– जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो ।

नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा नं १० को मझवाङ मावि र वडा नं ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ । नगरपालिकाका इन्जिनीयर राजेश कोइरालाका अनुसार मझवाङ माविमा ५० जनासम्म विद्यार्थी बस्न सक्ने गरी छात्रावास निर्माण थालिएको हो । हरेक तलामा तीनवटा शौचालय र स्नान कक्ष रहने छन् । खाना पकाउने, खाने, अध्ययन गर्ने कोठाहरु समेत छुट्टाछुट्टै हुने उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा एकतले उक्त छात्रावास निर्माण सम्पन्न भएपछि १६ जना विद्यार्थीले आवासीय सुविधा पाउने छन् । तीन तला निर्माण गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । उहाँले भन्नुभयो “तीन तला निर्माण सम्पन्न भएपछि ५० जना विद्यार्थीले सुविधा पाउँछन् ।” पहिलो तलाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । पहिलो तलाका लागि रु. ८३ लाख १० हजार ८४१ मा ठेक्का दिइएको हो । असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

त्यस्तै चतुर्मुखी माविमा छात्राहरुका लागि मात्रै छात्रावास बन्दैछ । कोइरालाका अनुसार तीनतले सो भवनको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । भवन सम्पन्न भएपछि १८ जना चेपाङ छात्राले सुविधा पाउनेछन् । सो भवनको हरेक तलामा शौचालय र स्नानकक्ष रहेको छ । रु ४४ लाख २१ हजार ८२० मा भवन ठेक्का दिइएको हो ।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार चतुर्मुखी माविमा यसअघि नै प्रजा छात्रावास रहेको छ । विसं २०५८ मा उक्त छात्रावास बनेको थियो । नयाँ भवन बनेसँगै छात्राहरु त्यसमा बस्नेछन् भने पुरानोमा छात्रहरु बस्नेछन् । पुरानोमा ४० जना अट्ने क्षमता रहेको छ । त्यस भवनको माथि ट्रष्ट लगाएर थप व्यवस्थित गरिंदै छ ।

मजबाङ मावि सिद्धीमा पनि २० जना क्षमताको छात्रावास सञ्चालनमा छ । यहाँ सीमान्तकृत चेपाङ समुदायका बालबालिका बस्ने गर्दछन् । सिद्धीको छात्रावास धेरै पहिलेदेखि सञ्चालनमा छ ।

सो विद्यालयमा नयाँ भवन बनेसँगै छात्रावास सहज रुपमा सञ्चालन हुनेछ । श्रेष्ठले भन्नुभयो, “चतुर्मुखीको छात्रावासबाट अध्ययन गरेर ४०० भन्दा बढीले प्रवेशिका उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” नगरपालिकामा त्यही अध्ययन गरेका पाँच जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।

नयाँ भवनहरु बनेसँगै थप विद्यार्थीलाई राखेर अध्ययन गराउने उहाँको भनाइ छ । आउँदो दशैंसम्ममा नयाँ भवनहरुमा विद्यार्थी राख्ने योजना नगरपालिकाको छ । यही असारसम्म भवन निर्माण सम्पन्न लक्ष्य लिइएको भए पनि कोभिडका कारण तत्काल विद्यार्थी राख्ने अवस्था छैन । चेपाङ पछाडि परेको समुदाय हो । पहाडी भूभागमा वसोवास गर्ने चेपाङहरुको बाह्रै महिना खाना पुग्ने उब्जनी हुँदैन । कतिपय समयमा गिठाभ्याकुर खाएर जीविकोपार्जन गर्ने गर्दछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE