Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

महाकालीमा पानीको बहाव वर्षकै उच्च

६ असार, काठमाडौँ – महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतार–चढाव आइरहेको छ ।

“मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो,” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै उच्च बहाव हो ।”

महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२, ऐरीघाटमा स्थानीयवासी ६ सोनाह परिवार विस्थापित भएका छन् । “विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ,” प्रनानि गुरुङले भने, “स्थानीय खोला थुनिँदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी, महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । तीन अर्ब ६७ करोड रुपैयाँको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटो समेत अवरुद्ध गराएको छ ।

त्यसैगरी, पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्यान्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सीएसईसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौँ रकम बराबरको नोक्सान भएको बताए । “गत जेठमा पनि बाढी आउँदा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो,” उनले भने, “त्यस बेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।”

उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पुर्‍याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए । “अस्थायी रूपमा क्षति कम होस् भनेर तारजाली, ढुंगा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो,” उनले भने, “यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।”

WRITE COMMENTS FOR THIS ARTICLE