मनसुन सुरुभएयता बाढी पहिरो र डुबानले १७ जनाको ज्यान लियो
१७ घाइते, २२ बेपत्ता
६ असार, काठमाडौं– केही दिनयता भइरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता १७ जनाको मृत्यु भएको छ ।
नेपाल पहरीको तथ्यांकअनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।
मृत्यु हुनेहरुमध्ये सिन्धुपाल्चोकका ३ जना, डोटीका ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १–१ जना रहेको प्रहरीले जनाएको छ ।
यस्तै बाढी, पहिरो र डुबानमा परी देशभर १७ जना घाइते भएका छन् भने २२ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । घाइतेहुनेहरुमा सिन्धुपाल्चोकका ५ जना, म्याग्दी र डोटीका ३–३ जना, जुम्लाका २ जना, कास्की, स्याङजा, चितवन र सल्यानका १–१ जना रहेका छन् । घाइते हुनेहरुको अहिले स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता रहेकाहरुमध्ये सिन्धुपाल्चोकका २१ जना र बाजुराका १ जना रहेका छन् । प्रहरीले वेपत्ताको खोजी कार्य जारी राखेको जनाएको छ ।
देशभर बाढी, पहिरो र डुबानमा परेका १ सय ९ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE