किरण गजमेरलाई नेपाल प्रवेश गर्न नदिएपछि विमानस्थलबाटै फर्किए अमेरिका
१३ आश्विन, काठमाडौं – ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उहाँ त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किनुभएको छ । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किनुभएको थियो। केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो ।
किरण अमेरिकी नागरिक हुनुहुन्छ । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिर्नुभएको थियो । किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आउनुभएको थियो।
श्रोतका अनुसार, किरण ‘द भ्वाइस अफ नेपाल’को विजेता बनेर अमेरिका प्रस्थान गर्दा ‘ओभर स्टे’ वापत जरिवाना समेत तिर्नुभएको थियो । तर, यसपटक नेपाल आउँदा उहाँले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किनुभएको हो ।
किरणलाई सन् २०२१ मा नेपाल प्रवेश गर्न गाह्रो रहेको वुझिएको छ । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार, अध्यागमन विभागले अपडेट गरेपछि किरणलाई बोलाउने बताएको छ, तर यो बर्ष किरण नेपाल प्रवेश गर्न पाउने संभावना भने कम छ ।किरण नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिनुभएको हो। तर, १४ बर्ष अगाडि अमेरिकी सरकारले भुटानी शरणार्थीहरुलाई आफ्नो देश लैजाने क्रममा उहाँ अमेरिका पुग्नुभएको थियो ।
भुटानी शरणार्थी शिविरबाट उठेर किरणले गायन क्षेत्रमा आफ्नो नयाँ परिचय बनाइरहनुभएको छ । ‘द भ्वाइस अफ नेपाल ३’को विजेता बन्दै किरणले नेपाली सांगीतिक क्षेत्रलाई विदेशमा समेत चिनाउन ठूलो भूमिका खेल्नुभएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE