एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन
१३ कार्तिक, काठमाडौँं - जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ ।
कोरोना भाइरस सङ्क्रमितलाई निमोनियाले थप समस्या हुने भएकाले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि खोप लगाउनु राम्रो हुने सुझाव दिइएको छ । ती खोपहरूले कोभिड–१९ को सङ्क्रमणबाट नजोगाउने भए पनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनियाजस्ता घातक रोगबाट जोगाउन महìवपूर्ण भूमिका खेल्न सक्ने छाती रोग विशेषज्ञ डा। रक्षा पाण्डेले बताउनुभयो ।
नेपालमा सरकारी कार्यक्रममा बालबालिकालाई निमोनियाको खोप दिने कार्यक्रम सन् २००९ यता समावेश गरिएको छ । तर वयस्क र ज्येष्ठ नागरिकलाई लक्षित खोपको व्यवस्था छैन । जाडो मौसममा निमोनिया लाग्ने जोखिम बढेका कारण ज्येष्ठ नागरिकले अनिवार्य रूपमा खोप लगाउन डा। पाण्डेको सुझाव छ । उहाँले भन्नुभयो–‘‘ब्याक्टेरियल निमोनियाविरुद्वको खोप ६५ वर्ष नाघेकाले एक पटक मात्र खोप लगाए जीवनभर पुग्छ ।’’
‘‘खोप लगाउने समय यही बेला हो,’’ उहाँले भन्नुभयो– ‘‘दमलगायत रोगले सताएका बिरामीलाई निमोनियाको जोखिम धेरै हुन्छ । त्यसैले दीर्घरोगी भएका ज्येष्ठ नागरिकले बढी ख्याल गर्नुपर्छ ।’’ उमेर ६५ वर्ष नपुगेको भए पनि फोक्सो, मुटु वा कलेजोको रोग, मधुमेह वा क्यान्सर भएका अनि रोग प्रतिरोधी क्षमता कम भएका जुनसुकै उमेरका व्यक्तिले निमोनियाको खोप लिनु राम्रो हुने जानकारी उहाँले दिनुभयो । हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा ‘भाइरसको स्ट्रेन’ हेरेर नयाँ नयाँ इन्फ्लुएन्जाको खोप आउने गरेको उहाँले उल्लेख गर्नुभयो ।
‘‘छ महिनाभन्दा बढी उमेरका सबैले यो खोप लगाएको राम्रो हो किनभने धेरैमा प्रतिरोधी क्षमता भयो भने जोखिममा रहेका व्यक्तिलाई रोग सार्ने सम्भावना कम हुन्छ । ज्येष्ठ नागरिक र अरू रोग भएकाहरूले झनै लगाउनुपर्ने देखिन्छ’’– उहाँले भन्नुभयो ।
परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले बालबालिकाबाहेक अरूलाई नियमित तालिका बनाएर सरकारले खोप वितरण गर्ने व्यवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो– “बजारमा फ्लु र निमोनियाविरुद्धका खोप उपलब्ध छन् । ती खोपहरू ज्येष्ठ नागरिकले लिन सक्नुहुन्छ । कुनै स्थानीय तहले यस्ता खोप दिन थालेका छन् ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE