Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

आजदेखि राजनीतिक दल तथा उमेदवारले जुलुस र आमसभा गर्न पाउने

काठमाडौँ – राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ को ९म०मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।

जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको आयोगले जनाएको छ ।

साथै आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गराउन आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सात बुँदे निर्देशन दिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE