साइबर अपराधको डरलाग्दो दृश्य !
नरेन्द्र महतारा । साइबर अपराध नियन्त्रण अहिलेको मुख्य चुनौति बनेको छ । प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप हुनेक्रम बढ्दो छ । यसै सन्दर्भमा साइबर अपराधबाट कसरी जोगिने भन्ने विषयमा ललितपुरमा जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
सूचना प्रविधिको विकासले एकातर्फ हाम्रो दैनिक कार्यलाई सहज बनाएको छ भने अर्कोतर्फ आपराधिक समूहले यसको दूरुपयोग पनि गरिरहेका छन् । कतिपय अवस्थामा भने अन्जानमै पनि मानिसहरुले साइबर अपराध गरिरहेका छन् । वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, जालसाजी जस्ता घटना बढ्दो क्रममा छ । यस्ता घटनाको रोकथामका स्पष्ट नीति नियमसमेत बन्न नसक्दा साइबर अपराध नियन्त्रण चुनौती बनेको सामुदायिक प्रहरी ललितपुरका प्रहरी नायक निरीक्षक फुलकुमारी पौडेलले बताइन ।
सरकारी निकायकै साइटहरुमाथि पनि पटक-पटक साइबर आक्रमण भइरहेका छन् । बैंक तथा वित्तिय क्षेत्रका प्रणालीमा पनि साइबर आक्रमणका घटना हुने गरेको छ । अर्कोतर्फ अधिकांश इन्टरनेट तथा कम्युटर प्रयोगकर्तामा साइबर थ्रेटबारे आधारभुत जानकारी नहुँदा समस्या झन बढेको क्लासिक टावर बस्ती सुधार समाजका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ ।
साइबर अपराधका घटनाको अनुसन्धान र कारबाही विद्युतिय कारोवार ऐन २०६३ अन्तर्गत भइरहेको छ । तर, यो ऐनले पनि सबै क्षेत्रलाई समेट्न सकेको छैन । यो मुख्य चुनौतीका रुपमा रहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईको दाबी छ ।
विदेशमा बसेर नेपालमा सामाजिक सञ्जालमा गलत क्रियाकलापहरु गराउँदै आएका घटनाहरु पनि प्रशस्त छन् । पछिल्लो समय सामाजिक सञ्जालले विकृति ल्याएको भन्दै सरकारले पनि नियन्त्रणको प्रयास भने गरिरहेको छ । तर प्रयोगकर्तालाई नियन्त्रण गर्दैमा यो समस्या समाधान हुने अवस्था भने छैन । यसका लागि इन्टरनेट प्रयोगकर्तालाई साइबर सुरक्षाको बारेमा जानकारी गराउनुका साथै स्पष्ट कानुनी व्यवस्था गर्न जरुरी छ । साथै साइबर सुरक्षालाई बलियो बनाउने गरी नीति ल्याइनुपर्छ । अर्कोतर्फ अन्जानमै साइबर अपराधमा फस्ने र साइबर अपराधको सिकार हुनबाट जोगिन आम मानिसमा सचेतना अभियान पनि चलाउन जरुरी छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE