नेपालमा फेरि आठ रेक्टरको भूकम्प आउने खतरा’
काठमाडौं – नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् ।
जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ ।
‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’
जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको भूगर्भविद् राजेन्द्रले जानकारी दिए ।
उनका अनुसार भूकम्पको जोखिम अत्यधिक भएकाले सुरक्षित संरचना निर्माण आवश्यक छ । प्रतिवेदनमा जोखिमको सम्भावना भएको नेपालको पश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा निर्माण गरिने भौतिक संरचानाहरु सुरक्षित हुने गरी बनाउन सुझाव दिइएको छ ।
भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE