Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेपालमा थप ९८० मा कोरोना संक्रमण

२१ भाद्र

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । नौ दिनअघि कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको थियो ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितमा पुरुष ६९० तथा महिला २९० छन् ।

हालसम्म २८ हजार ९४१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार ८१४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किनेको उक्त संख्या हालसम्मकै बढी हो । हालसम्म सात लाख ६८ हजार ३४५ को पिसीआर परीक्षण गरिएको छ ।

देशभर हाल १७४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । वागमती प्रदेशमा १०९ जनाको अति सघन कक्षमा र २१ जनाको भेन्टिलेटरमा, प्रदेश नं १ मा नौ जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, प्रदेश नं २ मा २८ जनाको अति सघन कक्षमा, प्रदेश नं ५ मा २० जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा पाँच जनाको अति सघन कक्षमा तथा कर्णालीमा तीन सङ्क्रमितको अति सघन कक्षमा उपचार गरिँदै छ ।

 

हाल देशभर १७ हजार २७ सक्रिय सङ्क्रमित छन् । हाल सात हजार ८२६ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । प्रवक्ता गौतमका अनुसार सबैभन्दा बढी प्रदेश नं २ मा तीन हजार ५०० सङ्क्रमित होम आइसोलेसनमा छन् । यस्तै वागमती प्रदेशमा दुई हजार ३३६, प्रदेश नं ५ मा ९७८, प्रदेश नं १ मा ७४३, सुदूरपश्चिम प्रदेशमा १२६, गण्डकी प्रदेशमा १०० तथा कर्णालीमा ४३ कोरोना सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE