Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

रोकिएन नेपाल डुबाउने भारतीय बाँधको निमार्ण कार्य

रौतहट – रौतहटको ईशनाथ नगरपालिका -१ स्थित बन्जरहामा दशगजा क्षेत्रमा भारतले बाँध अग्लो बनाउने कार्यलाई झन तिव्रता दिएको छ । सो बाँध निमार्ण र त्यसको कारणले नेपाली भूभाग डुबानमा पर्ने बारेमा विभिन्न संचारमाध्यममा समाचार प्रशारण/प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले सो क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

सो क्रममा दुबै देशका अधिकारी बीचमा बाँध निमार्णको कार्य तत्काल रोक्ने मौखिक सहमति भएको थियो । तर भारतले नेपाली पक्षसँगको सम्झौतालाई लत्याउँदै भारतीय पक्षले लकडाउनको अवधिमा पनि बाँधको उचाइ बढाइरहेको छ भने बाँधको छेउमा बोरामा वालुवा हालेर बलियो हिसावमा बाँध निमार्ण गरिरहेको छ ।

हालसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले नभत्कने गरी वलियो बनाइसकेको स्थानियहरु बताउँछन् । यसरी भारतीय पक्षले लकडाउनको मौका छोपेर बाँधको उचाँइ बढाउन थालेपछि स्थानिय भने त्रसित बनेका छन् । सोही बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षेत्र डुबानमा पर्ने गरेको छ ।

यो बाँधकै कारण सो नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ यस वर्षामा पूर्ण रुपमा डुबान पर्ने चिन्ताले स्थानियलाई सताउन थालेको छ । भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६÷५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाइरहेको छ भने वर्षाको पानीले नभत्कियोस् भनेर झन मजवुत बनाइरहेको छ । भारतले बनाइरहेको सो बाँध करिब तीन किलोमिटरभन्दा लामो, पन्ध्र फिटभन्दा अग्लो र दश मिटरभन्दा चौडाईको रहेको छ भने नेपाल तर्फको वर्षाको पानी निकासका लागि एउटा ढोका समेत राखिएको छैन । यसले गर्दा वर्षा याममा सो क्षेत्र पूर्ण रुपमा डुबान पर्ने निश्चित देखिन्छ ।

भारतको यस्तो कार्यले आफुहरु यो वर्षामा डुबेरै मरिने हो कि भन्ने चिन्ताले ईशनाथ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष विगु साहलाई सताउन थालेको छ । विगतका वर्षहरुमा बाँधकै कारण डुबानमा पर्ने गरेकोमा यस वर्ष भारतले बाँधको उचाइ बढाएको र झन मजवुत बनाएकाले यसपालिको वर्षा कसरी कटाउन हम्मेहम्मे पर्ने उहाँको भनाइ छ । भारतले आफ्नो जमिन बाँध बनाइरहेको दावी गरेपनि सो बाँध निमार्ण गर्दा नेपाली दशगजा क्षेत्रपनि मिचेको वडाअध्यक्ष साह बताउनुहुन्छ ।

अन्तराष्ट्रिय मूल्यमान्यता विपरित दशगजा क्षेत्रमा यस्तो संरचना बनिरहँदा पनि सरोकारवाला निकायले खासै चासो नदिएको उहाँको गुनासो छ । उहाँले आफुहरुले यस बारेमा विभिन्न सरोकारवाला निकायहरुमा जानकारी दिदाँ पनि कसैले बाँध निमार्ण कार्य रोक्न नसकेको भन्दै भारत उल्टै दिनरात एक गरेर काम अगाडि बढाइरहेको बताउननुभयो ।

‘हामीले भन्नुपर्ने हरेर सरकारी निकायहरुलाई भनिसक्यौ तर पनि काम रोकिएको छैन् ’ उहाँले भन्नुभयो ‘अब त थाकिसक्यौ । सायद छिमेकी कारण डुबेर मर्नु हाम्रो नियतिमै रहेछ ।’ उहाँले योे भारतलाई यो कार्य रोक्न लगाइ पानीको निकास नखोले वर्षा याममा ज्यान जोगाउन नसकिने बताउँदै केन्द्रिय स्तरमानै यसको पहल हुनुपर्नेमा जोड दिनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भारतीय पक्षले पटक–पटक बाँध निमार्ण कार्य रोक्ने सहमति गरेपनि हरेक पटक सहमति तोडेर हेपाहा प्रवृति देखाएको बताउनुभयो । उहाँले भारतीय पक्षसँग कुरा गर्दा हुन्छ हामी काम रोक्छौँ भन्ने तर काम भने निरन्तर जारी राखेर नेपाली पक्षलाई हेपेको बताउँदै आफुले यसका बारेमा केन्द्रिय स्तरमा पनि जानकारी दिइसकेको र चाँडै समाधान निस्कनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सरसर्ती हेर्दा सो बाँध निमार्णको क्रममा भारतले दशगजा क्षेत्रपनि मिचेको पाइएकाले यसको नापजाँच गरेर यदि दशगजा क्षेत्र मिचेको पाइएमा तुरुन्त भत्काइने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘भारतीय पक्षले हामीलाई पटक–पटक धोका दिइसकेको छ’ उहाँले भन्नुभयो,‘हामी यो विषयमा निक्कै गम्भीर छौँ । चाँडैनै यसको समाधान हुन्छ ।

स्थानीयका अनुसार धेरै पहिला खेतको आली मात्र रहेको सो स्थानमा भारतले करिब दश वर्ष अगाडिदेखि बाँध बनाउन सुरु गरेको हो । सुरुवातमा सो बाँध होचो भएपनि भारतले वर्षेनी बढाउँदै लाने गरेको छ । स्थानियहरु नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर तुरुन्त बाँध भत्काउन र सो सम्भव नभए बाँधका विभिन्न स्थानमा पानीको निकास बनाउन लगाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE