Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

भक्तपुरमा कोरोनाबाट थप दुईको मृत्यु

१९ बैशाख, काठमाडौँ-भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकाका पुरुष र मध्यपुर थिमि नगरपालिकाकी महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

यससँगै भक्तपुरमा संक्रमणका कारण मर्नेको संख्या एकसय ३१ पुगेको छ । जसमा ८५ पुरुष र ४६ जना महिला रहेका छन् ।कार्यालय प्रमुख कृष्ण मिजारले संक्रमित थप एक पुरुषको मृत्युसँगै भक्तपुर नपाका ४६ जना संक्रमितको मृत्यु जानकारी दिए । यहाँका ३० पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका हुन् ।

भक्तपुरका चार नपामध्ये कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी भक्तपुर नपाकाले ज्यान गुमाएका छन् ।भक्तपुर नपापछि मध्यपुर थिमि नपाका ४४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर थिमि नपाका २९ पुरुष र १५ महिलाले ज्यान गुमाएका छन् ।

सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ जनाले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ ।

हाल भक्तपुरमा सक्रिय संक्रमितको संख्या एकहजार ६ सय १ जना पुगेका छन् । नयाँ २ सय ११ जना थपिएसँगै यहाँ सक्रिय संक्रमितहरुको संख्या एकहजार ६ सय एक पुगेको हो । जसमा ८ सय ७९ पुरुष र ७ सय २२ महिला रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: