Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

विश्वासको प्रस्तावमा प्रत्येक सांसदले दस्तखतसहित मत विभाजन गर्नुपर्ने

२१ बैशाख, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको वैशाख २७ गतेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रत्येक सांसदले दस्तखतसहित आफ्नो मत विभाजित गर्नुपर्ने भएको छ ।

विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सांसदको विश्वास छ भन्ने प्रमाणित गर्न विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकोले संबैधानिक प्रावधानअनुसार प्रत्येक सांसदले दस्तखतसहित नै आफ्नो मत विभाजित गर्नुपर्ने भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत लिन लाग्नुभएको हो । सो उपधारा (१) मा प्रधानमन्त्रीेले कुनै पनि बेला आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्न सक्ने ब्यवस्था छ ।

प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री पदबाट मुक्त हुने संवैधानिक प्रावधान छ ।

धारा १०० को उपधारा (३) मा उल्लेख छ–‘पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ।’ यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE