Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

१० जेठ, काठमाडौँ – नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो।

अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिने देखिएको छ। दोस्रो डोज लगाएको २ सातापछि अस्ट्राजेनेका खोप इन्डियन भेरियन्ट रोक्न ६० प्रतिशत प्रभावकारी र बेलायती भेरियन्ट रोक्न ६६ प्रतिशत प्रभावकारी देखिएको छ। इन्डियन भेरियन्ट रोक्न फाइजर खोप ८० प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्ट रोक्न ९३ प्रतिशत सक्षम रहेको पनि अध्ययनले देखाएको बिबिसीले जनाएको छ।

 

बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डले फाइजर खोपको तुलनामा बेलायतमा अस्ट्राजेनेका खोपको प्रयोग ढिलो सुरु गरिएकाले यी दुई खोपको प्रभावकारितामा फरक आएको हुन सक्ने जनाएको छ। बेलायतमा फाइजर खोपलाई पहिला अनुमति दिइएको थियो। बेलायतको उक्त संस्थाले अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति र मृत्यु रोक्न खोप झनै बढी प्रभावकारी रहेको देखिएको जनाएको छ। अस्ट्राजेनेका खोपले प्रभावकारिता देखाउन केही समय लाग्ने अन्य तथ्यांकले देखाएको पनि पब्लिक हेल्थ इंग्ल्यान्डले उल्लेख गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE