“कोरोना महामारीले योगको महत्व झन् बढ्यो”
७ असार, काठमाडौँ – कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताएका छन्।
सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले योगाभ्यासलाई दैनिकीका रूपमा अघि बढाउन सके स्वस्थ जीवनयापनमा सहयोगी हुने बताएका हुन् ।
“योगको नियमित अभ्यासबाट सुस्वास्थ्य, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा वृद्धि, सकारात्मक सोचको विकासलगायत सकारात्मक गुणको विकास हुने कुरा हाम्रा पूर्वजहरूका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको छ”, प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “योगलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको छ, यस प्रकारका अन्तर्राष्ट्रिय र राष्ट्रिय योग दिवसहरुले हरेक नागरिकमा योगाभ्यास गर्ने बानीको विकास भएमा मात्र हामीले दिवस मनाएको सार्थकता हुन्छ ।”
साथै उनले नेपाल योग र ध्यानका लागि एक पवित्र तपोभूमि भएको र यही भूमिमा ऋषिमुनि तथा वैद्यहरूले जप, तप र ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको ऐतिहासिक प्रसङ्गसमेत शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको छ । नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस पनि मनाउने गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE