Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

माधवकुमार नेपाल गुटमा असन्तुष्टि बढ्दै

१५ चैत
काठमाडौँ –
कार्यकर्तामा अन्योल बढेका बेला शनिबार कमलादीको प्रज्ञा भवनमा आयोजित नागरिक संवाद कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदियो । अहिले अफ्ठेरो भइरहेको छ ।’

नेकपामा रहँदा ओलीविरुद्ध सडक संघर्ष गरिरहदा नेपालले यस्तो समय आउँछ भनेर सोचेका पनि थिएनन् । फागुन ११ गते सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गर्दा सबैभन्दा धेरै खुशी हुनेमध्ये एक नेता उनै नेपाल पनि थिए । सडक संघर्षका सारथी पुष्पकमल दाहालसँग उनले लड्डु समेत खाए ।

तर त्यो खुशी दुई हप्ता पनि टिकेन । सर्वोच्चले दुई हप्तापछि नै नेकपाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै एमाले र माओवादी केन्द्र ब्युँतिएको परमादेश दियो । नवौँ महाधिवेशनबाटै एमाले कब्जा गरेर बसेका ओलीविरुद्धको लडाइ नेपालका लागि फेरि ‘गलाको हड्डी’जस्तो साबित भयो ।

हिजो दह्रो गरी पाएको दाहालको साथ पनि सर्वोच्चका कारण रहेन । वर्षौदेखि स्थापित पार्टी छाड्ने कुरा पनि भएन । यही अन्यौलमा दिन बिताइरहेका नेपालले शनिबार मुखै फोरेर भने, ‘सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदियो । पार्टीमा बस्‍न अफ्ठ्यारो भइरहेको छ ।’

नेपाल गुटका एक नेताका अनुसार हिजोका दिनमा माओवादी केन्द्रसँग पार्टी एकता गर्दा पनि ओलीले नेपालसँग गम्भीर परामर्श गरेका थिएनन् । त्यतिबेला देखि नै एमालेमा एकलौटी गरेका ओलीसँग नेपालले रणनीतिक बैठक कहिल्यै गरेनन् ।

प्रतिनिधि सभा विघटनदेखि पुनःस्थापनासम्म दाहालसँग सडक संघर्षमा जाँदा पनि नेपालले खास रणनीति बनाएर लडाइ लडेनन् । सर्वोच्चले सोच्दै नसोचेको आदेश दिएपछि झन अहिले नेपाल रित्तो भएका छन् । यस्तोमा उनका कार्यकर्ता रिसाएका छन् ।

‘हिजो माअ‍ोवादीसँग एकता गर्दा पनि नेपालले कुनै अडान राखेनन् । आफ्नो धारणा बोलेनन् । त्यतिबेला एकता विरोधी भइन्छ भन्‍ने डर थियो’ नाम नखुलाउने शर्तमा नेपाल पक्षका एक नेताले इकागजसँग भने, ‘अहिले त्यसैको परिणाम न पार्टीमा एकता सुमधुर हुन सक्यो । न पार्टी सिध्याउने ओलीलाई पदबाट हटाउन सकियो ।’

उनका अनुसार प्रतिपक्षी दल कांग्रेसलाई सरकार बनाउन नेपालले आग्रह गर्दा पनि पत्याउने अवस्था छैन् । माओवादी केन्द्रले अझै सरकारबाट समर्थन फिर्ता लिएको छैन् । नेता नेपालले बैठक र आन्दोलन गर्दा आफूलाई रणनीतिक बनाउन नसक्दा अहिले यता न उताको अवस्था बनेको नेताहरूको टिप्पणी छ ।

‘ओलीले गर्दा कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक व्यवस्था नै मासिने खतरा बढेपछि बाध्य भएर सडकमा गएका थियौँ । यो वारपारको लडाइ नै थियो’ उनले थप अगाडि भने, ‘तर नेता नेपालको रणनीति पुगेन । पार्टीमा मिल्ने, छुट्टिने भन्दा पनि राजनीतिलाई कतातिर लैजाने रु भन्‍ने विषयमा स्पष्ट योजना नहुँदा हामीजस्ता नेता कार्यकर्ताले यस्तै दुःख पाउँछौ । पाइरहेकै छौ ।’

कार्यकर्ताको दबाबपछि शुक्रबार कलंकीमा बसेको खनाल(नेपाल समूहको बैठकले एमाले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको थियो । जसअनुसार झलनाथ खनालको नेतृत्वमा नेपाल गुटका सांसदहरू बैठकमा उपस्थित भएका थिए । तर नेपाल भने गएनन् ।

ओलीले रणनीतिक रूपमा एकपछि अर्को गरी आफ्नो गुटमाथि प्रहार गर्दा पनि केही गर्न नसक्नु दुःखद पक्ष रहेको नेपाल गुटका नेताहरुको गुनासो छ ।

यद्यपी अहिले असन्तुष्टिसँगै आन्तरिक संघर्ष बलियो बनाउन लाग्नुपर्ने नेपाल गुटका नेता तथा सांसद जीवनराम श्रेष्ठ बताउँछन् । ‘असन्तुष्टि केही होला । सबै नेताहरूको एउटै मुड हुन्छ भन्ने होइन’ उनले इकागजसँग भने, ‘तर अहिले आन्तरिक संघर्ष बलियो बनाउनुपर्नेमा ध्यान छ ।’

श्रेष्ठका अनुसार आन्तरिक संघर्षका लागि समानान्तर कमिटी गठन गर्ने कामसमेत भइरहेको छ । एकलौटी निर्णय गर्ने, पार्टी एकता कायम राख्‍ने काम नभए समानान्तर कमिटी घोषणा गरेर भएपनि एमाले पार्टीभित्रै बसेर संघर्ष निर्णय भएको उनको भनाइ छ । ‘एकता नचाहने, सधै एकलौटी निर्णय हुन्छ भने समानान्तर कमिटी घोषणा गरेर भएपनि संघर्ष जारी रहन्छ’ उनले भने ।

यस्तै नेपाल पक्षकै नेता तथा सांसद सोमप्रसाद पाण्डे पार्टी एकताको विकल्प नभएपछि अवस्था जटिल भएकाले असन्तुष्टि बढ्नु स्वभाविक भएको बताउँछन् । ‘अहिलेको अवस्थामा पार्टी एकताको विकल्प छैन्’ उनले इकागजसँग भने, ‘एकताको विकल्प नभएकाले असन्तुष्टि बढ्न सक्छ । स्वयंम माधव नेपालज्यू असन्तुष्ट हुनुहुन्छ । उहाँले अपमानित महसुस गर्नु भएको छ । तर पनि पार्टीलाई एक ढिक्का बनाउनुपर्ने जिम्मेवारी नेताहरुलाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE