Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु, एकै परिवारका पाँच बेपत्ता

काठमाडौँ-तनहुँको म्याग्दे गाउँपालिका र व्यस नगरपालिकामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोले घर भत्किदा पुरिएर म्याग्दे गाउँपालिका, ६ की १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको हो । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो ।
त्यस्तै व्यास नगरपालिका, ७ कलेस्तीमा एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । यता ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । ऋषिङ गाउँपालिका, ८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता हुन् । बेपत्ता हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा २९ वर्षीय नानुमाया थापा, ३० वर्षीय भेषबहादुर थापा, ५ वर्षीया अमिषा थापा, १९ वर्षीया मनिसरा थापा र २२ वर्षीय महादेव थापा रहेको प्रहरीले जनाएको छ । पहिरोमा परि घाइते भएकी सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE